उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

लोकपथ
42
Shares

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै आफ्ना  अनुभव र सघर्षका कुराहरू सुनाएकी छन् । 

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरूलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग यसरी अन्तरक्रिया गरेकी हुन् । 

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दा र काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू गरेका थिए ।

खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरूले विश्वास नगर्न सक्छन् । अरूले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ ।  ‘तपाईँको रुचि परिवर्तन हुनसक्छ । यो स्वाभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’ 

किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्नसक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुनसक्छ । आफूलाई यस्तो लागेपनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’

खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इन्जिनियरिङ पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहिनेत गर्दा गर्दा राम्रो अंक प्राप्त भयो ।’

वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेसा अगाडि बढाउन असजिलो हुँदैन ।’ 

डाक्टर बन्छु । इन्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरूले भित्री रुचि अरू नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरूले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो । 

विद्यार्थीहरूलाई विद्यालयभित्र उपलब्ध भयाबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?