जति महंगो भए पनि नेपालीमा किन घटेन सुनप्रतिको मोह ?

लोकपथ
63
Shares

काठमाडौं । चाडबाडको मौसम सुरु भएसँगै सुनको माग पनि बढ्दै गएको छ । नेपाली समाजमा सुन किन्नु अर्थात् सुन जोड्नुलाई शुभ मानिन्छ । तिहार नजिकिएसँगै सुनको खरिदबिक्री ह्वात्तै बढेको छ । धनतेरसका दिन सुन किन्नु निकै शुभ मानिन्छ । यदि तपाईं सुन किन्ने योजनामा हुनुहुन्छ भने यो खबर तपाईँका लागि हो ।

दसैँ सकिएर तिहार नजिकिँदै गर्दा सुनको भाउ हरेक दिनजसो उकालो लागिरहेको छ । सुनको मूल्य बढ्ने क्रम तत्काल रोकिने सम्भावना देखिदैन । तोलामा एक लाख ६५ हजारभन्दा बढी भइसक्दा पनि सुनको खरिदबिक्रीमा कुनै कमी आएको छैन । आखिर यति महङ्गो हुँद पनि सुनको खरिदबिक्रीमा किन कमी आउँदैन ? यति महंगो मूल्यमा पनि सुन किन किन्ने ? के फाइदा छ सुन जोड्दा यसबारे चर्चा गर्दैछौं ।

बहुमूल्य धातु

सुनलाई सदियौंदेखि बहुमूल्य धातुको रुपमा लिइन्छ । यसको मूल्य समयअनुसार बढ्दै जान्छ । नेपाल, भारत, पाकिस्तानलगायतका देशहरुमा त झनै सुनको सामाजिक र सांस्कृतिक महत्व भिन्न छ ।

‘यदि तपाईँले सुन किन्नुभएको छैन भने तपाईँलाई न त इतिहासको बारेमा थाहा छ, न त अर्थशास्त्रको बारेमा’ यो भनाई अमेरिकी अर्बपति लगानीकर्ता रेमण्ड थोमस डेलियोको हो । यो भनाईले सुन किन सदियौंदेखि यति महत्वपूर्ण छ भनेर बुझ्न सकिन्छ । सुनमा गरेको लगानी कहिल्यै खेर जाँदैन र यसले अस्थिर आर्थिक अवस्थामा तपाईँलाई साथ दिन्छ ।

परापूर्वकालदेखि नै लगानीका हिसावले सुनले आफ्नो महत्वलाई बचाई राखेको छ । जबदेखि सुन पत्ता लाग्यो र मानिसले यसको व्यापार गर्न सिके सुन मानव सभ्यताको सबैभन्दा अभिन्न अंग बन्यो । भौगोलिक, राजनीतिक अथवा अन्य कुनै पनि परिवर्तनमा यसको महत्वमा कुनै कमि आएन । यो सँधै नै प्रतिष्ठासँग जोडियो । सुन राजा महाराजाहरुका लागि खजाना भर्न काम लाग्यो त पछि आम मानिसका लागि गहनाका रुपमा जोडियो । विशेष चाडबाड, कर्मकाण्डलगायत कुनैपनि कार्यमा सुनको महत्व कहिल्यै घटेन ।

जोखिम व्यवस्थापनमा सहयोगी

लगानी पोर्टफोलियोमा सुनले विविधता ल्याउँछ । यसले अस्थिर आर्थिक अवस्थामा तपाईँको पोर्टफोलियोको लागि जोखिम व्यवस्थापनमा मद्दत गर्दछ । कुनै पनि राजनीतिक वा अन्य द्वन्दको समयमा शेयर बजार ओरालो लाग्न थाल्छ आर्थिक अनिश्चितता बढ्न थाल्छ यस्तो समयमा सुनले रामवाणको काम गर्न सक्छ । यस्तो अवस्थामा पनि सुनको मूल्य भने बढ्छ ।

यसले अन्य आर्थिक क्षतीमा मल्हमको काम गर्न सक्छ । सुन मात्रै यस्तो वस्तु हो जसको मूल्य समयअनुसार बढ्दै जान्छ ।

कर्जा प्राप्त गर्न सहज

आर्थिक कठिनाइको अवस्थामा कर्जा प्राप्त गर्न सहज हुन्छ । यदि तपाईँसँग सुन छ भने सजिलै कर्जा लिन सक्नुहुन्छ । बैंकले सुन धितोमा गतिलो कर्जा प्रवाह गर्ने गरेको छ । यो सुरक्षित कर्जा प्रवाहका लागि पनि गनिन्छ ।

विश्वव्यापी मुद्राको मान्यता

सुन एक यस्तो वस्तु हो जसले सार्वभौम मुद्राको रुपमा मान्यता पाएको छ । विश्वव्यापी रुपमा यसले आफ्नो मूल्य निर्धारण गर्ने गर्छ । कुनै युद्धको अवस्थामा विदेशी मुद्राको मूल्य शून्यमा परिणत हुन सक्छ तर सुनको मूल्य भने झनै बलियो भएर आउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?