शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

लोकपथ
28
Shares

काठमाडौं ।  विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवर्तनको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । 

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रूपमा मुख्य चुनौतीको रूपमा  रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृद्धिलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवर्तनका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । 

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पाँच जिल्ला कास्की, रुपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल,  बागमतीमा एसओएस हेर्मन माइनर माध्यमिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुम्बिनीमा शङ्करनगर दुर्गादत्त माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ । 

सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावरणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताए । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उनको भनाइ छ । 

यसैबीच संयुक्त राष्ट्र संघले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमुनाको रूपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहेएका सन्जोक पौडेलले बताए। अनुसन्धानको क्रममा आफूले जापानका तीन वटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताए । 

सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?