अब स्नातक तहको सबै परीक्षामा नेपाली र अंग्रेजी दुवै माध्यमबाट प्रश्न सोधिने

लोकपथ
203
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तहका सबै परीक्षाहरुमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट प्रश्नपत्र प्रकाशन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि सो नियम लागू हुने जानकारी गराइन् ।

यसअघि स्नातक र स्नातकोत्तर तहका सबै परीक्षामा अंग्रेजी माध्यमबाट मात्रै प्रश्न सोधिने गरेकोमा विरोध हुँदै आइरहेको थियो । पठनपाठन नेपाली माध्यममा हुने विषयमा समेत अंग्रेजीमा मात्रै प्रश्न सोधेको भन्दै विरोध भएपछि सरकारले दुवै माध्यमबाट प्रश्न सोधेर विद्यार्थीहरुका लागि सहजीकरण गरेको हो ।

शिक्षामन्त्री भट्टराईका अनुसार आगामी प्रथम वर्षको परीक्षामा सो नियम लागु हुने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत सो नियम लागु गर्न लागिएको हो । साथै हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।

‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ । उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ । हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ,’ शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?