पशुपति गौशाला धर्मशालाको यथार्थता अध्ययन गर्न समिति गठन

लोकपथ
42
Shares

काठमाडौं । पछिल्लो समय विवादमा परेको पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन भएको छ ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशला धर्मशालाको यथार्थता अध्ययनका लागि ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव एवं संस्कृती महाशाखाका प्रमुखको अध्यक्षतामा गठन भएको समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र पर्यटन मन्त्रालयका संस्कृती शाखाका उपसचिव रहेका छन् ।

उक्त समितिलाई गौशाला धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन, गौशाला धर्मशालाको आयव्ययको विवरण, लेखापरीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने लगायतका कार्यदेश दिइएको छ । त्यस्तै अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाहरुको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने र गौशाला धर्मशालाको स्वामित्वमा रहेको जग्गाको बारेमा अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

माडबारी सेवा समितिले संरक्षण गर्दै आएको पशुपति गौशाला धर्मशालाको स्वामित्व काठमाडौं महानगर अन्तर्गत ल्याउने तयारी गरिएसँगैँ विवाद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?