मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशमा ४० जनाको उद्धार

लोकपथ
35
Shares

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ  ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरूबाट १० जनाको उद्धार गरिएको छ ।

जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना रौतहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगन्ज महानगरपालिकाबाट ३ जना गरी १० जनाको उद्धार गरिएको हो ।

उद्धार भएका ७ जनालाई मानवसेवा आश्रम वीरगन्ज सेवा केन्द्रमा र ३ जनालाई मुख्य कार्यालय हेटौँडा सेवा केन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ । 

उद्धार टोली सोमबार सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धार सेवामा खटिएको हो ।

असोज २८ गतेबाट पूर्वको मेचीनगर नगरपालिकाबाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गतेसम्मको अवधिमा पर्साको वीरगन्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो ।

मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकै दिन १३ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो ।

त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरी १३ जनाको उद्धार भएको हो ।

त्यस्तै सिराहको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरी सिराहाबाट ८ जना र  धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार भएको हो ।

त्यस्तै  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका-१ बाट १ जनाको उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?