बाढीले कुरूप बनेको च्यासल रंगशाला : छैन सरकारी चासो

लोकपथ
294
Shares

काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनेको छ । 

गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरूमा समेत क्षति पुगेको छ ।

क्षति विवरण संकलनका लागि समिति गठन गरिएको र समितिले स्थलगत अध्ययनपछि विवरण बुझाएपछि पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले बताए । 

फिफाको फुटबल विकास परियोजनाको सहयोगमा सन् २००२ मा जग  राखिएको च्यासल रंगशाला सन् २०१७ मा राखेपको स्वामित्वमा गएको थियो । 

मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । सामान्य वर्षामा समेत पोखरी बन्ने भएकै कारण पनि एन्फाले च्यासल मैदानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको हो ।

रंगशाला सरकारले करोडौँ लागनी गरेर बनाएको मनसुनको बेला लगातार बाढी पस्ने गरेको छ । साफ यू–१६ महिला च्याम्पियनसिपका खेल च्यासल मैदानमा गर्ने भनिएपनि पछि सारेर एन्फामा गरिएको थियो । 

बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्सेनि बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलमा परेको छ ।

हिजोआज मैदानको अवस्था नाजुक छ । मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ ।

मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ । तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?