सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले दिए अधिकृत समाजबाट राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अधिकृत समाजबाट राजीनामा दिएका छन् । जिम्मेवारी बहनका क्रममा आफूमाथि आएको धम्कीका सम्बन्धमा न्यायपालिका अधिकृत समाजले कुनै प्रतिक्रिया नजनाएको भन्दै घिमिरेले मङ्गलवार राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेमाथि पछिल्लो दिनमा ज्यान मार्ने सम्मको धम्की आएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सिधा कुरा डटकममा प्रकाशित डार्क फाइलको सम्बन्धमा अदालतबाटै प्रतिवेदन उठी मुद्दा दायर भएको सम्बन्धमा उनीमाथि धम्की आएको उनले बताएका छन् ।

सिधा कुरा डटकमबाट प्रकाशित समाचारले अदालत अवहेलना तथा न्यायाधीशको मान हानी गरेको भन्दै सर्वोच्च अदालत प्रशासन र न्यायाधीशकै दबाबमा उपरजिस्ट्रार घिमिरेले प्रतिवेदन तयारी पारी सर्वोच्चमा अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए । सो मुद्दामा प्रतिवादी बनाइएका मध्ये अडियो तयार पार्ने कार्यमा संलग्न राजकुमार तिमिल्सिनालाई ६ महिना कैद र सिधा कुरा डटकमका सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेललाई जनही ३ महिना कैद सजायको फैसला सुनाइएको थियो ।

फैसला लगत्तै सम्पादक ढुङ्गाना र प्रकाशक कँडेल एक साता जेल सजाय काटेर रिहा भएका थिए भने अडियो तयार पार्ने तिमिल्सिना भने अझै फरार छन् । तिनै तिमिल्सिनाले भारतीय नम्बरबाट फोन गरी आफू तथा परिवारका सदस्यलाई ज्यान माग्नेसम्मको धम्की दिएको प्रहरी र प्रधानन्यायाधीशसहित न्याय प्रशासनलाई जानकारी गराइसकेका छन् ।

यहीबिचमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस हुँदा प्रधानन्यायाधीशले आर्थिक लेनदेन गरेको भन्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सार्वजनिक प्रतिक्रिया दिएपछि उनीमाथि पनि अदालतको अवहेलनामा मुद्दा दायर भएको थियो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै दबाबका उपरजिस्ट्रार घिमिरेले प्रतिवेदन तयार पारी मुद्दा दायर गरेका थिए । सो सम्बन्धमा पनि उनीमाथि धम्की आएको उनले सार्वजनिक रूपमै बताइसकेका छन् ।

कामकै सिलसिलामा प्रशासनको उपरजिस्ट्रारको हैसियतमा भएको काममा व्यक्तिमाथि धम्की आउँदा आफू कार्यरत संस्था र आफू जोडिएको संस्थाले प्रतिरक्षा नगरेको भन्दै उनले त्यसमा आपत्ति जनाउँदै आएका थिए ।

सोही सम्बन्धमा आफूमाथि ज्यान माग्नेसम्मको धम्की आउँदा आफू आजीवन सदस्य रहेको न्यायपालिका अधिकृत समाजले समेत केही नबोलेको भन्दै उपरजिस्ट्रार घिमिरेले साधारण सदस्य समेत नरहने गरी मङ्गलवार राजीनामा दिएका हुन् ।

न्यायपालिकामा कार्यरत न्याय समूहका कुल १ हजार १२० जना अधिकृतभन्दा माथिको कर्मचारीहरूको साझा संस्थाले आफ्नो कर्मचारी समस्यामा पर्दा बेवास्ता गरेको भन्दै घिमिरेले अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् ।

न्यायपालिका अधिकृत समाजमा ८८३ जना शाखा अधिकृत, २३२ जना उपसचिव, २४ जना सहसचिव, ३ जना सचिव र एक मुख्य सचिव सरहका मुख्य रजिस्ट्रार रहन्छन् । समाजको मुख्य संरक्षकमा मुख्य रजिस्ट्रार रहने व्यवस्था छ भने संरक्षकमा तीन सचिवहरू रहन्छन् । समाजको अध्यक्षमा भने सर्वोच्च अदालतको योजना महाशाखाका कार्यरत सह रजिस्ट्रार बाबुराम दाहाल छन् ।

उपरजिस्ट्रार घिमिरेले आपत्ति जनाउँदै दिएको राजीनामा पत्रमा अधिकृत समाज लाभको पदका लागि बार्गेनिङ गर्ने थलो बनेको, उच्च अदालतको न्यायाधीश बन्न जाने भ¥याङ बनेको र सहसचिव अर्थात् सह रजिस्ट्रारहरूको वृत्ति विकासमा मात्रै केन्द्रित भएको आरोप समेत लगाएका छन् ।

गत साउन महिनामा मात्रै ५ हजार रुपैयाँ शुल्क तिरेर आजीवन सदस्य बनेका घिमिरेले आफ्नै सदस्य जिम्मेवारी वहनकै सिलसिलामा समस्यामा पर्दासमेत केही नबोलेको भन्दै उक्त संस्थामा बस्नु उचित नभएको भन्दै राजीनामा बुझाएका हुन् ।

पछिल्ला दिनमा घिमिरेमाथि व्यक्तिगतरूपमा धम्की आएको घिमिरेले सामाजिक सञ्जालबाट सार्वजनिक गरिसकेका छन् । उनी, उनकी पत्नी तथा छोराछोरीको नामसमेत लिएर ज्यान माग्नेसम्मको धम्की आएपछि उनले सो सम्बन्धमा सर्वोच्च अदालत प्रशासनमा जानकारी गराए पनि प्रशासनले कुनै प्रतिक्रिया नजनाएको भन्दै त्यसमा असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । उनले कुनै व्यक्ति विशेषको स्वार्थका कारण आफूले जिम्मेवारी वहन गर्नुपरेको र कसैको प्यादा बन्न नसक्ने भन्दै बार अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता लिने कोसिससमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?