काठमाडाैं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।
मंगलबार राति नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो ।
नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका ए का आरिन नदकर्नीले ४ विकेट लिए ।
अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।
अमेरिकामा पर्सि शुक्रबारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।
यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया