रौतहट । केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरूले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्कअनुसार गत असोजमा मात्रै दुई वटा पिकअप भ्यान र एक थान ट्र्याक्टर बरामद गरेको छ । कार्यालयका सूचना अधिकारी महालक्ष्मी शर्माले गत असोज ७ गते तीन जनासहित ३४ क्युफिट काठ, एउटा पिकअप भ्यान वन गस्तीमा खटिएको टोलीले पक्राउ गरेको थियो ।
गत असोज ८ गते ना ४ च ८७९४ नं को टाटा पिकअपबाट १४ दशमलव २० क्युफिट काठसहित दुई जनालाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार असोज २३ गते ८६ क्युफिट काठ, प्रदेश २-०३-००१ त २०८० नं को ट्र्याक्टरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
गत आर्थिक वर्षमा विभिन्न मितिमा पाँच थान पिकअप भ्यान र पाँच थान ट्र्याक्टर काठ चोरी भएकामा वन कर्मचारीले खोजी गरी पक्राउ गरेको थियो । साथै मोटरसाइकल, साइकल, टायगाडामार्फत पनि काठ तस्करी भइरहेको भन्दै यी सवारीसाधन सुराकीको आधारमा तथा वनको नियमित गस्ती गर्ने क्रममा पक्राउ परेका सूचना अधिकारी शर्माले जानकारी दिए ।
गत आवमा काठ चोरी गर्ने ४९ जनामाथि मुद्दा चलाइएको जनाउँदै उनले एक हजार एक सय ९४.५८ क्युफिट काठ बरामद गरिएको उल्लेख गरे । आव २०७९/८० मा ९५ वटा सवारीसाधनसहित दुई हजार पाँच सय बढी क्युफिट काठ बरामद गरेको थियो । सो अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका पिकअप भ्यान आठ, ट्र्याक्टर तीन, ट्रक, मिनिट्रक र स्कारपियो एकरएक, साइकल ६५, मोटरसाइकल पाँच र रिक्सा ९५ वटा बरामद गरिएको थियो । ती तस्करीमा संलग्न ५० जना तस्करलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया