क्रिप्टो कारोबारीसँग रकम असुल्ने प्रहरी हवलदार जेल चलान, प्रहरी जवान धरौटीमा रिहा

लोकपथ
77
Shares

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका युवकसँग रकम लिएर रिहा गर्ने प्रहरी सहायक हवलदार जेल चलान भएका छन् । बुधवार काठमाडौं जिल्ला अदालतले प्रहरी सहायक हवलदार गणेश खड्कालाई जेल चलान गर्ने आदेश दिएको हो ।

मङ्गलवार अदालतमा मुद्दा दर्ता भई बुधवार थुनछेक बहस हुँदा न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले प्रतिवादी प्रहरी सहायक हवलदारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा प्रहरी सहायक हवलदार खड्कालाई अहिले नै निर्दोष भन्न नमिल्ने भन्दै इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

खड्कासँगै प्रतिवादी बनाइएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी जवान साजन शर्मा चपाईलाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । चपाईसँग एक लाख रुपैयाँ धरौट लिई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मङ्गलवार मुख्य अभियुक्त तेज बहादुर तामाङसहित अन्य दुई प्रहरी कर्मचारीमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर गरेको थियो ।

क्यानडामा बस्ने युवक नेपाल आएको समयमा क्रिप्टोकरेन्सी कारोबारी भन्दै क्यानडामा सँगै बस्ने रुम पार्टनरको योजनामा पक्राउ परेका रसुवाका एक युवकको परिवारले हिरासतबाट छुटाउन भन्दै ५० लाख रुपैयाँ बुझाएका थिए । आपराधिक लाभ लिनेमा ती युवककै रुम पार्टनर खोटाङ घर भएका तेज बहादुर तामाङ रहेका थिए भने त्यसमा जिल्ला प्रहरी परिसर, काठमाडौंको साइबर शाखामा कार्यरत प्रहरी सहायक हवलदार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईले सहयोग गरेको आरोप छ । मुख्य आरोपित तेज बहादुर तामाङ भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?