नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छ : मन्त्री पाण्डे

लोकपथ
42
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा वृहत अध्ययन गरिरहेको बताएका छन् । 

सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङगर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि मन्त्रालय  प्रयास गरिरहेको बताएका हुन् ।  

उनले  भने, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा वृहत अध्ययन गरिरहेका छौँ । अनौपचारिक रूपमा यसको बृहत्तर हुँदैछ । नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरू, समितिले दिएका प्रतिवेदनहरू र निकालिएका निष्र्कषहरुमा देखिएका चुनौतीहरूलाई मुख्य अध्ययनको विषय बनाएका छौँ । कुनै साधारण समिति बनाएका छैनौँ । असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौँ । कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौँ । विविध विषयहरू समेटेर स्पष्टीकरण सोधेका थियौँ र जवाफ पनि प्राप्त  भइसकेको छ । हाम्रो अध्ययनको  विषय उहाँको स्पष्टीकरणको जवाफ पनि  हो ।’

साथै उनले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र  प्रभावकारी बनाउनको लागि कानुनी, संरचनागत कमजोरी,  प्राविधिक समस्या र प्रशासनिक समस्याको निचोड निकालिने बताए ।

उनले भने, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र  प्रभावकारी बनाउन चाहन्छौँ । कानुनी कमजोरी के हो ? नीतिगत कमजोरी के हो ?  संरचनागत कमजोरी र प्राविधिक समस्या के हो ? प्रशासनिक समस्या के हो ? यी सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौँ । यस्तै अवस्थामा रहन दिनेछैनौँ ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाई उडान सञ्चालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाई र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताए । सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औँल्याए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?