एमालेले भन्यो : सहकारीको अनुसन्धानविरुद्ध प्रदर्शनमा संघीय सांसदकै उपस्थिति हुनु गैरकानुनी कार्य

लोकपथ
63
Shares

काठमाडौं । सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

एमालेले सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको प्रदर्शन गैरकानुनी भन्दै त्यसप्रति आपत्ति पनि जनाएको छ । संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले बताएको छ ।

पार्टी महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको पनि बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बढाउनु सबैको साझा दायित्व हो ।’

सहकारी ठगी प्रकरणमै सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू लगातार विरोध प्रदर्शनमा उत्रिरहेका छन् । यस्तो कार्यलाई गैरकानुनी भन्दै एमालेले भनेको छ, ‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुनु र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णतः गैरकानुनी कार्य हो ।’

एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने कुनै पनि प्रकारका गतिविधि नगर्नसमेत ध्यानाकर्षण गराएको छ एमालेले सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त भएको बताएको छ ।

सो पार्टीले भनेको छ, ‘संविधानले प्रत्येक नागरिकलाई संविधान र कानुनको पालना गर्नुपर्ने भनी नागरिकका कर्तव्य पहिचान गरेको छ र सबैले कानुनको पालना गर्नु र गराउनु पर्दछ । मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्यलाई दण्डनीय मानेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?