‘आफ्नालाई संरक्षण गरेर सरकारले विपक्षीप्रति प्रतिशोध साँध्यो’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ । 

बिहीबार पार्टी केन्द्रीय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन् । 

उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको कानुनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको थियो । अहिलेको सरकार त पछिल्लो समय विपक्षी दलका नेताहरूलाई छानि छानि मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । म ती नामहरू भन्न पनि तयार छु । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतकाहरुलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’

त्यस्तै उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालीन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठिक विपरीत दिसामा गइरहेको उल्लेख गरे । 

‘हामी पूरै दृढताका साथ के भन्न सक्छौँ भने माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि दृढताका साथ लागि परेको थियो । अहिलेपनि देशव्यापी रूपमा हाम्रा कार्यकर्ताहरू चाहिँ जनताको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा समेत खटिरहनुभएको छ । पहिलेका सरकारले गरेका कामहरूको बारेमा धेरै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यति भन्दा पनि पुग्छ जस्तो लाग्छ ,’उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?