स्वास्थ्यमन्त्रीका दुई ‘कमिट्मेन्ट’ : बीमाको दायरा ५ लाख पुग्छ, औषधिको मूल्य घट्छ

लोकपथ
168
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार मन्त्रीको कार्यभार सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरा बढाएर ५ लाख पुर्याउनेगरी काम गरिरहेको बताए ।

हाल स्वास्थ्य बीमा बापत सरकारले एक लाख उपलब्ध गराउँदै आइरहेको छ । त्यस्तै औषधिको मूल्य समायोजनका लागि काम भइरहेको समेत बताए । उनले औषधिको मूल्य समायोजन गरेर मूल्य घटाउनेगरी आफूसहित सरकार लागिरहेको दाबी गरे ।

‘बीमाको दायरा बढ्छ, बढ्छ । ५ लाख पुग्छ पुग्छ । त्यसपछि औषधिको मूल्य समायोजन हुन्छ । यो दुई वटा कुरा मन्त्रीका रुपमा मेरो कमिट्मेन्ट भयो । यो मेरो मुख्य विषय हो, त्यसैले औषधिको मूल्य समायोजन हुन्छ, यो भनेको कुनैमा पनि बढ्दैन । सबैमा घट्छ,’ मन्त्री पौडेलले भने ।

त्यसैगरी मन्त्री पौडेलले आफू मन्त्रालयको नेतृत्वमा आएपछि हरेक अस्पतालको अवस्था सुधार भएको बताए । प्रयाप्त मात्र सुधार गर्न नसकिए पनि थप व्यवस्थित बनाएर अघि बढेको दाबी गरे । आफूले मन्त्री हुने बित्तिकै हरेक अस्पतालमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर बोलेको विषयमा आत्मआलोचना गर्दै हटाउन नसकेपनि घटाउन मात्रै सकिने बताए ।

मन्त्री पौडेलले मन्त्रालयको नेतृत्वमा आइसकेपछि १०० दिनका उपलब्धीहरु संक्षेपमा १६ बुँदामा सार्वजनिक गरेका हुन् ।

आफूले विगत ३ महिना नीति नियम र सिस्टम बुझ्न लागेका कारण केही सुस्त गतिमा मात्रै काम अघि बढे पनि अबका दिनमा रफ्तारमा काम अघि बढाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?