किटान गरिएको १० लक्ष्यहरूमध्ये ८ वटा पूरा भए : मन्त्री दाहाल

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार गठनको सय दिनभित्र मन्त्रालय र अन्तर्गत निकायहरूबाट सम्पादन भएका मुख्य-मुख्य कार्य विवरणहरू सार्वजनिक भएको गरेका छन् ।  बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त उपलब्धिहरू सार्वजनिक गरेका हुन् । 

सोही क्रममा उनले मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानी जहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्यहरू र हासिल भएका उपलब्धिहरूका साथै यस मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र यस अवधिमा सम्पादन गरिएका अन्य कार्य र तिनबाट हासिल भएका उपलब्धिहरू सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरेको बताए । 

उनले एक सय दिनका लागि किटान गरिएको १० लक्ष्यहरू मध्ये ८ बटा लक्ष्य पूरा भएको, एउटा लक्ष करिब पूरा भएको र बाँकी एउटा लक्ष्यको भने आधा मात्र प्रगति हासिल भएको जानकारी दिएका छन् । 

उनले भने, ‘एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरू मध्ये ८ बटा लक्ष पूरा गरिएका छन् भने एउटा लक्ष करिब पूरा भएको अवस्था छ। बाँकी एउटा लक्षको भने आधा मात्र प्रगति हासिल भएको अवस्था छ। यसबीचमा वर्षात् र बाढीको प्रकोपद्वारा सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु नपरेको भए हामीले सम्पूर्ण लक्ष्य पूरा गर्ने देखिएको छ ।

अपेक्षाको दाँजोमा प्रगतिको यो अवस्था कमै भए पनि किटान गरिएको लक्ष्यका दृष्टिले यसलाई कम भन्न पनि मिल्दैन भन्ने ठानेको छु । यो उपलब्धि मन्त्रालय, विभाग र फिल्डमा मेहनतपूर्वक खट्ने सबै तहका कर्मचारी साथहरीहरुका साथै सबै सरोकारवालाहरू र मिडियासमेतको सहयोगमा सम्भव भएको उल्लेख गर्न चाहन्छु ।’

यस अवधिमा मन्त्रालयले विगतदेखि विरासतको रूपमा रहेको कतिपय आयोजना व्यवस्थापनका समस्या र श्रोत साधनको सीमितताका बाबजुद जनचासो र अपेक्षाहरूलाई सम्बोधन गर्न आवश्यक सबै प्रयत्न गरिएको पनि उनको भनाई छ । 

यस्तै, उनले आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न यस कार्यमा अझै प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?