नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह, लगानी सहजीकरणमा महासंघले सघाउने

लोकपथ
42
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन् ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् ।

उनले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलूकहरुले प्राप्त गरेको भन्साररहीत पहुँच एवं ऊर्जा खरिदबिक्री सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने बताए ।

यसैगरी, विदेशी लगानीकर्तालाई ढकालले भारतसँग भएको १० हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले नेपालमा जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी दिए ।

नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । उनले संसारको सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिल स्टेसन विकास गर्न सकिने सम्भावनाबारे पनि लगानीकर्ताहरूलाई जानकारी गराए ।

लगानी सहजीकरणको लागि महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारेका छन् । हाल महासंघले एफडीआई हेल्पडेस्कमार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको बताए । उनले सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको जानकारी समेत गराए । अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने क्रममा वासिंगटनमा छन् । यसअघि उनले अन्तर्राष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?