अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । 

मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो । 

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मञ्चलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए । 

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गरे । 

उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरूको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा विपक्षी दलहरूको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।  

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरुले यसपटक दसैँ तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?