चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार

लोकपथ
21
Shares

सुर्खेत । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो । 

निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक  चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिएकी छन् । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा  चार लाखका दरले  ४० लाख र आर्थिक वर्ष २०८०/८१ मा पनि  ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ । 

छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका विनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् । यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । कर्णालीमा चिकित्सक अभाव हुन नदिने गरी प्रदेश सरकारले योजना बनाएको निमित्त निर्देशक हमालले बताए । सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको उनको भनाइ छ । 

कर्णालीमा पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रविधि, भेटेरेनरी, नर्सिङ, कृषि लगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरूलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ । प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?