रविमाथि इजलासमा दुर्व्यवहार भएको भनाइको प्रहरीले गर्याे विज्ञप्ति नै निकालेर प्रतिवाद

लोकपथ
1.1k
Shares

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा जिल्ला अदालत कास्कीमा लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रहरीले जनाएको छ । विशेषगरी सामाजिक सञ्जालहरूमा यी विषय आएपछि प्रहरीले औपचारिकरुपमै मुख खाेलेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अनुसन्धानमा रहेका लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रहरी हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपमा कुनै सत्यता नभएको जनाएको छ । जारी विज्ञप्तिमा भ्रामक तथा कपोकल्पित विचार टिकटकलगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख छ ।

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा कास्की प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो । दोस्रो पटक म्याद थप्न लैजाँदा अदालतमा रविले पनि आक्रोश पोखेका थिए । उनलाई प्रहरीको अनुसन्धान पद्धतिमाथि नै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?