‘माइलो छोरालाई जेनतेन पढाइन्, दुईचार पैसा कमाउने अनि परिवारलाई सुख दिने भन्दै उ साउदी उड्यो । साथमा कान्छो छोरो छ, कलेज पढाउन अनि बिहेदान गर्न मन छ तर कसरी ? छाप्रोको जीवन भएपनि निकै खुसी थिइन चित्रकुमारी सुनार ।
भाडामा लिएको जमिनमा लहलह धान झुलाउँथिन, गाई पालन गरेर दुध बेचेर छोरो पढाउँदै थिइन् । तर, दशैं अगाडि अचानक आएको नख्खु खोलाको बाढीले उनको खुसीसँगसँगै बगाएर लग्यो ।
जतासुकैबाट दुःखको पहाडले घेरेपछि चित्रकुमारीले दिनमै रात देख्न थालेकी थिइन् । छाप्रोमा बसेर अर्काको जमिन भाडामा लिएर भए पनि राम्रो आम्दानी गरेकी उनको फेरि गाई पाल्ने, धान र तरकारी खेती गरेर पुरानै लयमा जीन्दगीको गति फर्काउने आशा मरेको छैन ।
असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीले बस्दै आएको छाप्रो मात्रै बगाएन छाप्रोमा बुनिएका सपनाहरु बगरमा परिणत भए । बगरमा परिणत भएको काट्ने बेलाको धान, गाई गोठ र पुरिएको छाप्रो हेरेर दिन बित्छ चित्रकुमारीको । साहुलाई वार्षिक ३०–३५ हजार बुझाएर खेतीपाती गर्नेदेखि गाई पाल्ने गोठसम्म उनले बनाएकी थिइन् । त्यही छाप्रोबाट कान्छो छोरोलाई दैनिक कलेज पढ्न पठाउने भएपनि बाढीले सयौँ घरहरु भत्काएजस्तै उनको दैनिकी पनि भत्किएको छ ।
शहर सबैको सपना बुन्ने थलो हो । गाउँमा वर्षभरी दुःख गर्दा पनि ६ महिना खान नपुग्ने भएपछि केही पैसा कमाउने सपना बोकेर शहर झरेकी उनको सपनामा तुसारापात लाग्यो । ६ वर्षदेखि नख्खु खोला किनारभन्दा केही वर बस्दै आएकी उनलाई बितेका वर्षहरुमा यसरी बाढी आएको याद थिएन । दुःखको भारी लिएर केही सुखको आहालमा पौडिन पाइन्छ कि भनेर रामेछापबाट घुम्दैफिर्दै ललितपुर आएकी थिइन् उनी । वार्षिक ३०–३५ हजार भाडा तिरेर ६–७ रोपनी जग्गा पाएकी उनले वर्षेनी धान लहलह झुलाउथिँन् । गाई पालेर सानो परिवार पाल्दै आएकी उनमा कान्छो छोरालाई पढाउने र बिहे गरिदिएर गाउँ नै फर्किने योजना छ । आफूले पढ्न नपाएकोमा पश्चाताप लागेरै होला उनले आफूले गोबर सोहरेर नै छोराहरुलाई पढाइन् । माइलो छोरा १२ पास गरेर साउदी गएको सुनाउने उनलाई कान्छोलाई १२ कक्षा पढेपछि १३,१४,१५… कक्षाभन्दा माथि पढाउने रहर छ ।
रामेछापदेखि दुःखको झोला भिरेर सुखको खोजीमा आएकी उनले केही समय अरुका काम गरिन् तर त्यसले आफ्नो जीवन नचल्ने देखेपछि आफ्नै सानो व्यवसायका रुपमा गाई पालन थालेकी थिइन् ।
सधैँझै सो दिनमा पनि उनी छाप्रोमै थिइन् । दुई नाती, छोरो र भाईका छोराहरु समेतलाई आश्रय दिइरहेकी उनलाई महल लाग्ने झुपडी डुबाउला भन्ने लागेकै थिएन । हेर्दाहेर्दै गाई गोठमा बाढी पस्यो । हतारहतार गाई निकालेर सुरक्षित स्थानमा सारियो । तर, आफ्नो ओत लाग्ने छाप्रो बचाउन सकिनन् ।
‘म त्यो दिन चाँही वस्तु चराउँदै थिएँ उ त्यो… बारीमा । पानी परेपछि ल्याएर बाँधे । तर बाढी बढेपछि बस्तु निकाल्दा निकाल्दै पानी यतियति आइरहेको थियो । त्यहाँ सबै डुबाउँछ भनेर सबै बच्चाबच्ची मिलेर बस्तु निकाल्यौँ । साँझमा बाढी कम होला भनेको त झन हाम्रो छाप्रोमा टनाटन भैहाल्यो । अलिअलि केही कागजपत्रहरु त झिकियो तर अन्य जिउको लुगाबाहेक भाँडा पनि झिक्न पाइएन,’ उनले सुस्केरा हाल्दै सुनाइन् ।
उनीसँग अहिले कान्छो छोरो, छोरीपट्टिका नातीनातिना, भाइका छोराहरु समेत बस्छन् । दिउँसो अन्यत्रै काम गर्न जाने भाइका छोराहरुलाई समेत उनले आश्रय दिएकी छिन् ।
बाढीले बिचल्ली बनाएपछि त्यही नजिकै अर्को ठाउँ भाडामा बस्दै आएका छन् उनीहरु । त्यही गोठ बनाएकी छन् । उनको गोठमा अहिले १० वटा गाई छन् । केहीले दूघ दिन्छन् कति ब्याउने छन् । कति थाकेका छन् । त्यहीँ वरपर ९–१० घरमा दूध बेच्ने, केही लिटर दूध परिवारलाई राख्ने र बाँकी रहेको डेरीमा समेत बेच्दै आइरहेकी थिइन चित्रकुमारी ।
पाक्नै लागेको धान बाढीमा परेपछि त्यहाँ चिसोले धानको बिउ उम्रिन थालेको छ । तरकारीका लागि बनाएका ड्याङको भने नामोनिशाना छैन ।
गतवर्ष १८–१९ मुरि धान फलेको खेत अहिले बाढीले सोत्तर बनाएको छ । पाक्नै लागेको धान बाढीमा परेपछि त्यहाँ चिसोले धानको बिउ उम्रिन थालेको छ । तरकारीका लागि बनाएका ड्याङको भने नामोनिशाना छैन । काट्ने बेलाको धान उम्रिन थालेको देख्दा उनका आँखा रसाउँछन् । दिनमा एकदुई पल्ट त्यहाँ पुगेर नहेरेसम्म उनको चित्त बुझ्दैन आजभोली ।
उनलाई अहिले राहत त चाहिएको छ, तर, आफ्नै हातले स्याहारेको त्यही खेत, गाईगोठ र मिठो निद्रा आउने त्यही छाप्रो ।
‘साहुले पनि अहिलेको वर्षको बाली बाढीले लग्यो, अर्को वर्ष राम्रो हुन्छ भन्नुभएको छ । साहुले पनि वडाबाट केही राहतको प्रबन्ध गरिदिने आशा देखाएका छन् तर हुने के हो केही थाहा छैन ।’ उनले आफ्नै शैलीमा दुःख पोखिन् ।
हामीले दसैँको कुरा खोतल्ने बित्तिकै उनको आँखा क्यामराबाट तर्किएर पारितिर मोडिए । सुख्खा पहाड वर्षामा रसाएजस्तै आँखा रसिला भए । दुःखको तावामा, अभावको बेलनाले बेलिएको जस्तो उनको जीन्दगीमा अघिल्ला भन्दा यो दसैँ थप कठिन बन्यो । चाडबाडमा छोरीज्वाइँलाई बोलाएर खुवाउन पर्ने बेलामा उनीहरुबाटै सहयोग लिनुपर्दा उनलाई धेरै पीडा भयो । ‘दसैँमा नानी बाबुहरुले अलिअलि सहयोग पठाए, त्यस्तै त्यस्तै गरेर मनायौँ । तिहार भन्ने कुरा के हो दसैँ भन्ने कुरा के हो बाढीपीडित मान्छेलाई,’ हासोँको भावमा उनले सुनाइन् ।
दुःखमाथि दुःख थपिए पनि आमा हुनुको नाताले उनले आफ्ना छोराछोरीप्रतिको जिम्मेवारी भने भुलेकी छैनन् । केही वर्ष यही शहरमा दुःख गरेर कान्छो छोरालाई सक्षम बनाएपछि मात्रै गाउ फर्किने दोहोर्याइन् ।
‘नानीहरु गाउँ जाऔँ त भन्छन् नि । एउटा बाबु छ त्यसको पढाइ सकाउनुपर्यो । अहिले १२ पढ्दैछ, १३ भन्दा माथि पढेपछि जाने हो,’ उनले आफ्नो योजनाको पोखो फुकाउँदै सुनाइन्, ‘अब अर्काको ठाउँमा बसेर त हुँदैन । पैसाका दुःखले हो । बसौँ जस्तो त लाग्दैन सर ।’
असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले ललितपुरमा ठूलो क्षति पुर्यायो । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट केही किलोमिटरको दुरीमा रहेको नख्खुमा आफ्नो ज्यान बचाउन गुहार माग्दै गर्दा उदासिन बनेको राज्यले पुनःनिर्माणका लागि अर्बौँ लाग्ने तथ्याङ्क निकालेको छ ।
राहतका लागि झण्डै आधा अर्ब विनियोजन गरेको प्रधानमन्त्री स्वयंले बताए पनि त्यहाँका नागरिकहरु भने राहत भन्दा पहिले बाढीले बस्तीमा ल्याएको फोहोर सरकारी तबरबाट पन्छाउने आशामा छन् । त्यहाँका बाढी प्रभावितहरुको एक महिना बाढीले ल्याएर थुपारेको बालुवा र फोहोर पन्छाउँदैमा बितेको छ ।
हामी पुग्दा बाढीले बगाएर घरमा टाँसेको बालुवा कोट्टयाउँदै थिए, त्यहाँका स्थानीय अमृत कपाली । ६ वर्षअघि दुखले जोडेको तीन तले घर अहिले उजाड छ । भाडामा लगाएर आफू चाँही बल्खुमा बस्दै आएका थिए उनी । बाढीले घरमा ढुंगा, माटो, बालुवा, काठ, विभिन्न फलामका टुक्रादेखि ठूला बस्तुहरुले घेरिएको उनको घर बाढीले डेढ तला पुरेको थियो । घरमा बाढी पसेपछि भाडामा बस्दै आएकाहरु आफ्नो सामान झिकेर अन्यत्र सरिसकेका छन् ।
‘यस्तो घरमा को बस्छर ? सबै हिँडिहाले नि । सरसफाइ गर्नुपर्ला पहिले जस्तै भयो भने भाडामा बस्ने मान्छे आउलान् नि,’ उनले सुनाए । करिब एक महिनादेखिको दैनिकी त्यही घरको फोहोर पन्छाउनमै बित्यो । आफ्नो घर त जेनतेन सफा भयो अब बाहिर कहिले सफा हुने पत्तो छैन । एक्लैले संभव नहुने भएकाले सरकारको बाटो कुरेर बसेका छन् यस क्षेत्रका बासिन्दा ।
उनको छिमेकमै छन्, माधव खतिवडा । उनीहरुको दैनिकी एकअर्कासँग कुरा गरेर फोहोर पन्छाएर बित्छ । सँगै जोडिएको घर भएपनि ओहोरदोहोर गर्दा नाक थुनेर हिड्नु पर्छ । अमृतको जस्तै माधवको पनि राज्यसँग राहतको आश भन्दा पनि फोहोर पन्छाइदिए हुन्थ्यो भन्ने छ । आफ्नो परिवारको साथ त्यहाँ बस्ने उनको घरमा पनि भाडामा बस्नेहरु निस्किसकेका छन् ।
सैँबू हुँदै दक्षिण बग्ने नख्खु खोलाको निकाशको गल्छी सानो हुँदा उक्त बस्ती वर्षेनी डुवानमा पर्दै आइरहेको माधव बताउँछन् ।
यो त १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर नेपालको सरकारी नक्साको तथ्यांकमा समेटिएको एउटा बस्तीको कथा भयो ।
वर्षेनी आउने बाढी, पहिरो र डुबान प्रभावित देशभरका चित्रकुमारी, अमृत र माधवहरुको कथा उस्तै छ । राज्यबाट राहत भन्दा पनि थोरै भरोसाको मात्र आशा राख्ने आमा चित्रकुमारीहरुको आवाज राज्यसम्म पुगोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया