युट्यूबमा भिडियो पोस्ट गरेर युट्यूबर दम्पतीले गरे आत्महत्या

लोकपथ
182
Shares

काठमाडौं । छिमेकी देश भारतको केरलामा एक यूट्यूबर दम्पतीले आत्महत्या गरेका छन् । शनिबार श्रीमान र श्रीमती दुवै आफ्नै घरमा मृत फेला परेका थिए ।

भारतीय सञ्चारमाध्यम अमरउजालाका अनुसार उक्त दम्पतीले आफ्नो मृत्युको केही घण्टा अघि सामाजिक सञ्जालमा एक भिडियो अपलोड गरेका थिए । जसको पृष्ठभूमीमा मलयालम गीत (बिदा पर्युकेनन् जनमु) सुनिएको थियो । केरला प्रहरीले अनुसन्धानका क्रममा उनीहरुले आत्महत्याअघि मृत्युको संकेत दिएको जनाएको छ ।

उनीहरुको एक छोरा र एक छोरी रहेका छन् । छोरीको भने गत वर्ष नै विवाह भइसकेको छ । जसले शनिबार आमा प्रिया र बुबा सेल्वराजलाई मृत अवस्थामा फेला पारेपछि छिमेकीलाई खबर गरेका थिए । उनीहरुको मृत्युको कारणबारे अनुसन्धान प्रहरीले गरिरहेको छ । प्रियाले चलाउने गरेको युट्यूब च्यानलमा १८ हजारभन्दा बढी सब्सक्राइबर रहेका छन्, जहाँ प्रियाले खाना पकाएको भिडियोहरु पोस्ट गर्ने गर्दथिन् ।

मृत्यु हुनुभन्दा करिब ५–६ घण्टा अगाडि यी जोडीले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका थिए । जसमा जोडीको धेरै तस्बिरको मोन्टेज देखाइएको छ र ब्याकग्राउन्डमा ‘बिदा पर्युकेनन् जनम’ गीत बजिरहेको देख्न सकिन्छ ।

भिडियोको एक ठाउँमा सेल्वराजले बिदाइ गर्दैछन् र उनकी पत्नी प्रिया उनको पछाडि मुस्कुराउँदै देखिन्छन् । गत वर्ष छोरीको विवाहपछि दम्पती आर्थिक समस्यामा परेको उनीहरुको छिमेकीले प्रहरीसँग बताएका छन् । आर्थिक कारण नै उनीहरुले आत्महत्याको बाटो रोज्न पुगेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?