केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । 

आफूले मन्त्रालयको नेतृत्व सम्हाले यता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन् । आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनियर) समेत पठाइ सकेको जानकारी उनले दिए । केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ छ ।

करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ ।

उनले भने, ‘नौ–नौ/दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनु भएका एक हजार २५८ जना कर्मचारीलाई एकै दिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ । हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनु भएका ३८औँ ब्याचका अफिसर/अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’

पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपुर पहलकदमी लिइरहेको उनको भनाइ छ ।

एकैचोटी ठुलो संख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब आफूले झेलेको सम्झना गर्नुहुँदै उनले भने ‘म बोल्ने भन्दा पनि काम गरेर देखाउने इच्छा बोकेर मन्त्रालय आएको हुँ । कामको सन्दर्भमा आउने यस्ता दबाबको अगाडि झुक्ने बानी मेरो छैन र झुक्दिनँ पनि ।’ यस्तै, उनले कर्मचारी सरुवा सम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी दिए ।

मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयक माथिको छलफलले तिव्रता पाएको र आगामी संसद् अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?