यो वर्ष दुई लाख मखमली माला विदेश पठाइँदै

लोकपथ
105
Shares

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ ।  

फ्लोरिकल्चर एसोसिएसन (फ्यान) काअनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । 

एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमासमेत निर्यातका माग भएको बताए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्प खेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ ।  

यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ ।   

हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो ।

यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूल खेतीमा ठुलो नोक्सानी बेहोर्नु परेको छ । वर्षाको कारण १५ करोड बराबरको नोक्सान भएको एसोसिएसनले जनाएको थियो ।   

नेपालमा व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्यांक छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्प खेती गर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?