अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ कि विजेता, ‘माक्कुसे’ कि सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत । मिस नेपाल वा कुनै सौन्दर्य प्रतियोगिता (ब्युटी प्याजेन्ट)को ताजसँगै ग्ल्यामर दुनियाँमा प्रवेश गर्ने प्रवृत्तिको ठिक उल्टो व्यवसायमा हामफालेकी अनुष्का यतिबेला छायाँमा परेको नेपाली स्थानीय मिठाइको प्रवर्धनमा जुटेकी छन् ।
प्लस टु सकेर अष्ट्रेलिया पुगेकी अनुष्काले कहिले पनि सोचेकी थिइनन् कि ‘कुनै दिन मिस नेपाल बन्छु वा स्थानीय नेपाली उत्पादनलाई ब्रान्डिङ गर्दै व्यवसायमा लाग्छु’ भनेर । व्यवस्थापन संकायतर्फ स्नातक गरिसकेकी अनुष्काले ‘मिस नेपाल ओसेनिया २०१८’ को ताज पनि जितेकी छन् ।
अष्ट्रेलियामा अध्ययन सुरु गरेदेखि म्याक डोनल्स हुँदै अष्ट्रेलियाकै कमन वेल्थ बैंक अफ अष्ट्रेलियामा काम गरिसकेकी उनलाई स्वदेशमै मोडिन मुख्य भूमिका मिस नेपालको ताजले नै खेल्यो । मिस नेपालको ताजसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गरेकी उनमा राष्ट्र र राष्ट्रियताप्रतिको अथाह स्नेह यसरी भरियो कि फेरि अष्ट्रेलिया फर्कने सोच आएन । अर्थात, आफ्नै देशमा केही गर्नुपर्छ भन्नेमा उनी दृढ रहिन् ।
मिस वर्ल्ड २०१९ बाट फर्किएर आउँदा नेपाल र नेपालीले देखाएको माया र सदासयताले उनमा देशमै केही गर्नुपर्ने अठोट पलाएको थियो । भन्छिन्, ‘मिस वर्ल्डबाट फर्किएर आएको एक वर्ष जुन माया र साथ पाएँ के त्यो एक दिनको लागि मात्रै थियो त ? भन्ने प्रश्न मनमा खेल्यो । तब, केही न केही नेपालकै लागि गर्छु भनेर बुझ्दै जाँदा नेपाली लोकल मिठाइलाई एक ब्रान्डको रुपमा अघि बढाउने योजना बन्यो ।’
छरिएका थिए चाहना, पुष्टकारीले समेटिदियो
कुनै समय थियो काठमाडौंको न्युरोडको गुँदपाक र पुष्टकारी भनेपछि मानिसहरु आँखा चिम्लिएर खरिद गर्थे । यसको गुणस्तरबारे कसैले ध्यान दिँदैन थिए । जब वाणिज्य विभागको टोलीले अनुगमन गर्यो तब यसको वास्तविकता बाहिर आयो । त्यसपछि मानिसहरु गुँदपाक खरिद गर्न डराउन थाले । काठमाडौंको लोकल गुँदपाक र पुष्टकारीको स्वाद कहीँकतै नपाइने जानकारहरु बताउँछन् । तर, न्युरोडमा पाइने गुँदपाक र पुष्टकारी गुणस्तरहीन त थियो नै म्याद गुज्रिएको र पुनः प्रयोग गरिएको पाइएपछि त यसको व्यापारमा नै ढुंगा लाग्यो । अहिले लामो समयपछि त्यही लोकल स्वादका गुँदपाक र पुष्टकारीसँगै कुकिजहरुलाई ‘माक्कुसे ब्रान्ड’ को रुपमा अगाडि बढाएकी छिन् अनुष्काले ।
मिस वल्र्डको प्रतिस्पर्धामा जानुपूर्व भएको तयारीको समयमा अनुष्काले जतिलाई भेट्ने मौका पाइन् ती सवै उनका व्यवसायिक जीवनका सल्लाहकार अनि प्रेरणाका स्रोतहरु हुन्, जसले स्वदेशमै केही गर्न उत्प्रेरित गरिरहे ।
अनुष्कासँग थियो मिस नेपालको ताज र सोही ताजका कारण चम्किरहेको जीवन, साथमा मिस वर्ल्ड प्रतिस्पर्धामा पाएको वाहवाहीको उर्जा । सबैको माया पाउँदा फुरुङ्ग उनीसँग यति धेरै इच्छा चाहनाहरु ओइरिरहेका थिए कि कुनलाई आत्मसाथ गर्ने अन्यौल थियो । प्रतिस्पर्धाको अवधिका प्रोत्साहनलाई समेट्दै जाँदा नेपाली मौलिक स्वादका गुँदपाक र पुष्टकारीको व्यवसाय उनको रोजाइमा पर्यो । यसरी छरपस्ट इच्छा चाहना एक भयो र सुरु भयो माक्कुसे यात्रा ।
काठमाडौंमै जन्मिए हुर्किए पनि कहिल्यै पुष्टकारी नखाएकी उनले यसको स्वाद र फाइदाबारे जानकारी भएपछि मात्रै स्वाद लिएकी थिइन् । ‘वास्तवमा हामी चाहिनेभन्दा धेरै सोचिरहेका हुन्छौं, अवसरहरु हाम्रा वरिपरि छन् मात्र पहिचान हुन नसकेको मात्रै रहेछ,’ उनी भन्छिन्, ‘अवसरको खोजी गर्दै भौतारिरहेका हामीलाई अवसरले पर्खिरहेको हुनेरहेछ । जब पहिल्याइन्छ तब मात्र हामी छर्लङ्ग हुन्छौं कि ओहो यो त यही थियो, कहाँकहाँ भौतारियौं भन्ने लाग्ने रहेछ ।‘
माक्कुसेलाई नेपाली मिठाइहरुको ब्रान्ड ‘नेपाली लक्जरी डेजर्ट’ भन्न रुचाउँछिन् अनुष्का । सन् २०२० नोभेम्बरबाट सुरु भएको उत्पादनले कोरोना महामारीले थिलथिलो भएको बजारमा पनि आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ । ब्रान्ड उद्घाटनमा समेत कोरोनाले रोकेको दिन सम्झँदै उनी भन्छिन्, ‘कम्पनी खडा गरेर उद्घाटनको दिन आयो तर म जान पाइनँ । म आफैलाई कोरोना संक्रमण भयो । भव्य तरिकाले उद्घाटन गर्ने वातावरण पनि थिएन । त्यसैले आइसोलेसनबाटै भर्चुअल उद्घाटन गर्नुपर्यो ।‘
उद्यममा पाइला चालेको छोटो समयमा नै अनुष्का दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा पर्न सफल भइन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा रहन सफल भइन् । उद्यममा उर्जा भर्न यसले थप मद्दत गरेको उनी बताउँछिन् ।
माक्कुसे कसरी नेपाली लक्जरी डेजर्ट ?
सामान्यतया खाना खाइसकेपछि मुख मिठा गर्ने भन्ने चलन नयाँ होइन । पुष्टकारी स्वास्थ्यकर भएकाले गुलिया अन्य मिठाइ भन्दा यसलाई डेजर्टको रुपमा प्रयोग गर्न सकिन्छ ।
भनिन्छ नि ‘नजिकको तीर्थ हेला’ । त्यस्तै हाम्रा आफ्ना उत्पादनलाई हामी आफैले विश्वास गर्न सक्दैनौं । जसका कारण नेपाली उत्पादनले बजार पाउन ठूलो लडाई लड्नुपर्छ । माक्कुसेका उत्पादनलाई नेपाली लक्जरी डेजर्टको कोटीमा उभ्याउन लागिपरेकी अनुष्कालाई लक्जरी डेजर्ट ! भन्ने बित्तिकै महंगो र धनीहरुले मात्रै खरिद गर्न सक्ने होला भन्ने आमधारणा चिर्नु छ । उनी भन्छिन्, ‘नेपाली मिठाइहरुले पनि स्ट्यान्डर्ड डिजर्भ गर्छन् । हामी किन ढुक्कले स्वदेशी उत्पादन खरिद गर्न सक्दैनौं त ? यसको मुख्य कारण हो विदेशी उत्पादनको बिगबिगी र आकर्षक प्याकेजिङ । हामीले पनि स्वदेशी उत्पादनलाई अलि आकर्षक ढंगले प्याकेजिङ गर्ने अनि गुणस्तरमा सम्झौता नगर्ने हो भने स्वदेशी उत्पादनले बजारमा राम्रो पकड बनाउनेमा हामी ढुक्क छौं ।’
हुन पनि नेपाली स्थानीय स्वादका मिठाइ जुन सधैँ ओझेलमा परे । ती मिठाइलाई एउटा ब्रान्डमार्फत बजारीकरण गर्दा भिन्न प्रतिक्रिया आएको छ । यो शब्द नेवारी भाषाबाट लिइएको हो, जसको अर्थ मिठो खानेकुराले मन भरिएको भन्ने हो । सुन्दा अलि अनौठो लाग्ने यो नाम जनजिब्रोमा झुण्डिन थालिसकेको अनुष्काले अनुभव गरेकी छिन् ।
हरेक नेपालीले खरिद गर्नसक्ने यो ब्रान्ड विदेशी मिठाइको तुलनामा स्वस्थकर त छ नै साथमा मूल्यमा पनि सस्तो पर्ने उनी बताउँछिन् । ४०० ग्रामको एक बट्टा पुष्टकारीको मूल्य ६५० तोकिएको छ । त्यसैगरी, २०० ग्रामको सिसाको बट्टाको गुँदपाकलाई ६५०, छ प्याकमा आउने ठूला कुकिजको ६५० र साना कुकिजको ५९९ तोकिएको छ । बजारमा पाउने गुँदपाक र पुष्टकारीको तुलनामा केही महंगो लाग्न सक्छ तर यसको उत्पादन, गुणस्तर र प्याकेजिङ हेर्ने हो भने अन्यको तुलनामा यो सस्तो भएको अनुष्काको दाबी छ ।
माक्कुसेका उत्पादन हातबाट निर्मित भएकाले पनि मूल्य अलिकति फरक परेको हो । यतिमात्रै कहाँ हो र, प्याकेजिङका लागि सिसाको जारको प्रयोग गरिएको छ । यसलाई राख्ने बट्टा तथा झोलाहरु नेपाली लोकताबाट निर्मित छन् । तामा पित्तलका चम्चा बनाउन स्थानीय कालिगढसँग जोडिएकी छन् । दूधका लागि काभ्रेका किसानसँग सिधै जोडिएकी छन् ।
स्थानीय कच्चापदार्थको प्रयोगबाट बनेका यी मिठाइले स्थानीय मात्रै होइन अन्तर्राष्ट्रिय बजार पाउनेमा पनि अनुष्का विश्वस्त छिन् । उत्पादन, गुणस्तर र प्याकेजिङको आधारमा मूल्य निर्धारण गरिएको अनुष्का बताउँछिन् । कुनै वर्गका लागि निर्धारण नगरिएको उनी बताउँछिन् । लक्जरियसको मतलव महंगो होइन कि आफूले गर्ने अनुभव र स्वाद भएको उनको तर्क छ । उनी भन्छिन्, ‘माक्कुसे हामी सबैका लागि हो ।’
मौलिक उत्पादन सधैँ ओझेलमा पर्दै आइरहेको अवस्थामा माक्कुसेको बजार चाडबाड, आफन्त, साथीभाइलाई दिइने उपहारदेखि विदेशमा सामान पठाउँदा स्वदेशी उत्पादन पठाउने, लैजाने सस्कृति बसाउन आफ्नो ब्रान्ड लागिपरेको उनी बताउँछिन् । साथै, अब विदेशी पाहुनालाई अलमलमा नगरी स्वदेशी उत्पादनको रुपमा माक्कुसे उपहार दिन सकिने उनी बताउँछिन् ।
ग्ल्यामर माक्कुसे
ग्ल्यामरको दुनियाँबाट उदाएकी अनुष्का आफूले सञ्चालन गरिरहेको माक्कुसेलाई पनि ग्ल्यामर ब्रान्ड भन्न रुचाउँछिन् । बाहिरी आवरण जति आकर्षक छ भित्री स्वाद र यसमा पौष्टिक तत्व पनि उत्तिकै भएको उनको दाबी छ ।
माक्कुसे कसरी ग्ल्यामर ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘माक्कुसेलाई हामीले जुन लुक दिएका छौं त्यो निकै नै आकर्षक छ । पुष्टकारी छरपष्ट छैन, अन्तर्राष्ट्रिय ब्रान्डका मिठाइलाई जस्तै आकर्षक र्यापिङ र प्याकेजिङ गरिएको छ । त्यस्तै गुँदपाक सिसाको बट्टामा राखेर तामाको चम्चासहित सर्भ गरिएको छ भने कुकिजलाई विभिन्न फ्लेभरमा नेपाली कागजका बट्टामा आकर्षक तरिकाले प्याकेजिङ गरिएको छ । प्याकेजिङ मात्रै होइन लोकल स्वादका यी उत्पादन गुणस्तरीय छन्, त्यसैले यसलाई म ग्ल्यामर माक्कुसे भन्न रुचाउँछु ।‘
बजारको प्रतिक्रियाले उत्साहित
नेपालका कुनाकाप्चामा विदेशी मिठाइले रजाइँ गरिरहेको वर्तमान अवस्थामा के माक्कुसे प्रतिस्पर्धामा उक्लन सक्ला ? अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धी बनाउन माक्कुसेको उत्पादन र गुणस्तरलाई विशेष ध्यान दिएको अनुष्का बताउँछिन् । उत्पादन फ्याक्ट्रीमा विज्ञसहितको फूड प्राविधिकहरुको टोली राखिएको र गुणस्तर मापनका लागि प्रविधिको प्रयोग गरेको उनले बताइन् । गुणस्तरमा सचेत रहेकै कारण अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्नेमा ढुक्क रहेको उनी बताउँछिन् ।
रोजगारी सिर्जनामा समेत सघाएको माक्कुसेमा प्रत्यक्ष रुपमा ८ जना कार्यरत छन् भने अप्रत्यक्ष रुपमा ३० जनाभन्दा बढी जोडिएका छन् । आफूले अष्ट्रेलिया बसाइको क्रममा आर्जन गरेको रकम माक्कुसेमा लगानी गरेको उनी बताउँछिन् । २५ लाखको लगानीबाट सुरु भएको माक्कुसेले बजार लिँदै जाँदा अब लगानी बढाउनुपर्ने दिन आएको उनी बताउँछिन् । माक्कुसेमा अनुष्का एक्लै छैनन् अन्य लगानीकर्ताहरु पनि जोडिएका छन् ।
स्वदेशी बजारमा प्रभाव जमाउने कसरत गरिरहँदा अन्तर्राष्ट्रिय बजार आँक्नु चानचुने कुरा होइन । अनुष्का भन्छिन्, ‘अहिले हामी नटबोल्ड कस्दै छौं, पार्टपुर्जा जुटाइरहेका छौं, विस्तारै यसको प्रारुप तयार हुन्छ अनि फैलिने छौं । अहिले पनि विदेशमा बस्ने नेपालीहरुले अर्डर लिएर जाने गर्नुभएको छ । कोरोना महामारीले भएको लकडाउनमा पनि यसको माग भएको थियो । हाम्रो उत्पादनको लेभलिङ प्रष्ट भएकाले पनि अन्तर्राष्ट्रिय विमानस्थलहरुमा समस्या आएको छैन । अब विस्तारै हामी कमर्सियल रुपमा पनि निर्यात गर्नेछौं ।‘
माक्कुसेका पुष्टकारी, गुँदपाक, कुकिजहरुले विगत, वर्तमान र भविष्यलाई नै दर्साउने अनुष्का बताउँछिन् । पुष्टकारी र गुँदपाकको मौलिक स्वादलाई पुनर्ताजगी गराउन खुबै मिहिनेत गरेकी उनले खुवा, फर्सिका वियाँ, मह, गुँद, सख्खर जस्ता कच्चापदार्थहरुबाट गुँदपाक तथा कुकिज बनाइएकाले स्वस्थकर भएको बताइन् । माक्कुसेले अर्डर अनुसारका ३६ प्रकारका मसला मिसिइएको सुत्केरी मसला पनि बनाउने गरेको छ ।
बजारको प्रतिक्रिया निकै सकारात्मक आएको उनी बताउँछिन् । अहिले अनलाइन डेलिभरी मात्र भइरहेको माक्कुसेलाई बजारमा सर्वसुलभ तरिकाले उपलब्ध गराउनुपर्ने माग आउन थालेका छन् । जमानामा काठमाडौंका चर्चित पुष्टकारी र गुँदपाकको स्वाद पुनः पाएको प्रतिक्रिया बजारबाट आइरहँदा निकै उत्साहित देखिइन् अनुष्का ।
हतार नगरौं !
१०–५ को जागिर गर्ने, मज्जाले घर बस्ने, अरु तनाव किन लिने भन्ने सोचाई थियो अनुष्काको मिस नेपाल पूर्व । तर मिस नेपालको ताज, अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर अनि आफ्नो भूमिमै केही गर्नुपर्ने रहेछ भन्ने भावना जागृत हुँदै जाँदा व्यवसायिक यात्रा तय भएको थियो । जसले आज युवा उद्यमीको रुपमा उनलाई चिनाएको छ ।
अहिलेको ग्लोबल ट्रेन्ड भनेको नै नयाँ–नयाँ कार्य गर्ने र चुनौतीमा रमाउने देखेकी अनुष्का आफूलाई १०–५ को जागिर भन्दा चुनौतीसँग खेल्नुमा खुव आनन्द आउन थालेको बताउँछिन् । तर, उनी भन्छिन्, ‘नयाँ पुस्ता रचनात्मकतामा जानुपर्छ । हामी इन्स्टाग्रामका पुस्ता, तत्काल परिणाम खोज्छौं, तत्काल नाफा खोज्छौं, टिकटकमा १० सेकेन्डमा सबै भएको देख्छौं, हामीलाई हतार छ । हामीले यो बुझ्न जरुरी छ कि, के रुख आजको भोलि ठूलो हुन्छ र ? हामीमा रुख जसरी विकास हुँदै जाने धैर्यता आवश्यक छ ।‘
सामाजिक कार्यमा सक्रियता
मिस नेपाल हुँदा सिन्धुपाल्चोकको एउटा गाउँमा गरेको शिक्षा, आयआर्जन र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा अनुष्का जोडिएकी छिन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्य गर्न २०१९ मा सुरु भएको उक्त कार्यक्रमले विद्यालयका शिक्षकहरुलाई तालिम दिने गर्छ । उक्त कार्यक्रमले आयआर्जनका लागि विभिन्न तालिमहरु दिनुका साथै तयारी बस्तुको बजारीकरणमा पनि सघाउँदै आइरहेको छ । मिस वर्ल्डमा सहभागी भएर फर्कदा प्राप्त गरेको २० हजार डलर पनि उनले सामाजिक कार्यमै लगाएको बताइन् । आयआर्जनसँगै छोरीहरुलाई पढाउन प्रोत्साहित गरेको उनले बताइन् ।
फेसन डिजाइनर आमाबाट व्यवसायमा लाग्न प्रेरणा पाएकी अनुष्का परिवारमा छोरीले पनि जिम्मेवारी लिन सक्छन् भन्ने उदाहरण पेस गर्न चाहन्छिन् । अहिले धेरै युवा विदेश पलायन भइरहेको अवस्थामा उनी भने स्वदेशमै केही गर्न सकिन्छ भनेर कस्सिरहेकी छिन् ।
काठमाडौंमा जन्मे हुर्केकी उनलाई अष्ट्रेलियाको जीवन चटक्कै छोडेर आउँदा निकै खुसी लागेको थियो । तर, कति नेपालीको भने विदेशमा नचाहँदा नचाहँदै पनि बस्नुपर्ने बाध्यता छ जसलाई सबै नेपालीले सम्मान गर्नुपर्ने उनी बताउँछिन् । अनुष्का भन्छिन्, ‘मलाई पो नेपाल आएपछि बस्ने घर छ, परिवार छ, खान लाउन समस्या छैन । तर, कतिलाई त विदेश नै बस्नुपर्ने बाध्यता छ । यसलाई हामीले सम्मान गर्नुपर्छ ।‘
अनुष्काका अनुसार असल नागरिक बन्न स्वदेशमा नै बस्नु पर्छ भन्ने छैन । जहाँ बसेर पनि आफ्नो देशको लागि योगदान गर्न सकिन्छ । देशमा बस्ने केही नगर्ने अनि देशलाई नै गाली गर्ने भन्दा विदेशमा मिहिनेत गरेर परिवार पाल्ने मात्रै होइन रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा योगदान गरिरहनेहरु धेरै नै महान लाग्छ उनलाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया