काठमाडौं । धनतेरस अर्थात धनको चाड । धनको अर्थ सम्पती र तेरसको अर्थ त्रयोदशी तिथि हो । यस दिन धनका देवताको पूजाआरधना गर्नुको साथै घरमा धनसँग सम्बन्धित सामग्री जोड्ने गरिन्छ । यसै दिनबाट तिहार विधिवत रुपमा सुरु हुन्छ ।
यस वर्षको धनतेरस कार्तिक कृष्ण त्रयोदशी तिथि अर्थात कार्तिक १३ गते विहान ११ बजेबाट सुरु भएको छ ।
यस दिन घरमा धन अर्थात धातुका सामान भित्र्याएमा लक्ष्मी खुशी हुने र घरमा धनको कमी हनु नदिने धार्मिक विश्वास छ । भोली अर्थात कार्तिक १४ गते साढे एक बजेसम्म त्रयोदशी तिथी पर्ने भएकाले उक्त समयसम्म कुनैपनि सामान खरिद गर्नुलाई शुभ मानिन्छ ।
साँझपख भगवान धन्वन्तरि, कुबेर र लक्ष्मीको पूजा आराधना गरिन्छ । परिवारलाई रोगबाट जोगाउन र दीर्घायुका लागि यमको नाममा दीपदान पनि गरिने चलन छ । धनतेरसमा त्रिपुष्कर योग पनि परेकाले यस दिन गरिएको कामले ३ गुणा बढी फल दिन्छ भन्ने विश्वास छ ।
धनतेरसको शुभ साइत
कार्तिक १३ गते ११ बजेर २६ मिनेटदेखि १२ बजेर १० मिनेटभित्र अभिजित मुहूर्त रहेकाले यस अवधिमा सामान खरिद गर्दा सबैभन्दा धेरै लाभ प्राप्त हुने बताइएको छ । २ बजेर ३६ मिनेटदेखि ३ बजेर ५९ मिनेटसम्म राहुकाल रहेकाले यस अवधिमा सामान खरिद नगर्दा राम्रो हुनेछ । ४ बजे पछिको जुनसुकै समयमा सामान खरिद गर्न सकिने छ । यसदिन कालो रंगको कुनै पनि सामान खरिद गर्नु शुभ मानिँदैन ।
धनतेरसको तिथी कार्तिक १४ गते अपरान्ह १ बजेर ३१ मिनेटसम्म छ । धनतेरसका दिन खरिद गरेका सामाग्रीहरु राखेर पूजा गर्दा लक्ष्मी माता खुसी हुने र धनधान्यले सम्पन्न बनाउने धार्मिक विश्वास छ ।
कस्ता सामान खरिद गर्ने ?
धनतेरसलाई कुबेरको दिन पनि भनिन्छ । त्यसैले यस दिन धन जोड्ने प्रचलन छ । यस दिन नयाँ तामा, पित्तल, चाँदीका भाँडाकुडा, गरगहना खरिद गर्नु शुभामानिन्छ । यस दिन बहुमूल्य धातु सुन खरिद गर्नुलाई शुभ मानिन्छ । धन्तेरसको दिन लक्ष्मी र गणेशको मुर्ति, तस्बिर घर भित्र्याउनु शुभ मानिन्छ ।
यस दिन किनेको भाडा, मूर्ति तथा धातु राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन छ । धनतेरसका दिन धनियाँ, कुचो, कौडी, कमलगट्टा जस्ता सामाग्री किन्नुलाई पनि शुभ मानिन्छ ।
पारिवारमा स्वास्थ्य रक्षा र आरोग्यको कामना
कार्तिक त्रयोदशी तिथिको दिन समुन्द्र मन्थनको समयमा भगवान धन्वन्तरी अमृत कलश लिएर प्रकट भएको धार्मिक किम्वदन्ती छ । त्यसैले यस दिनलाई धनतेरस या धनत्रयोदशीको नामले चिनिन्छ । धन्वन्तरी आयुर्वेदका स्वामी थिए । धन्वन्तरी भावनाका पनि वैद्य थिए, त्यसैले यस दिन परिवारको स्वास्थ्य रक्षा र आरोग्यको कामना गर्दै धन्वन्तरीको उपसना गरिन्छ ।
साँझपख भवगान धन्वन्तरी, कुबेर र लक्ष्मीको पूजा आराधना गरी दीपदान गर्दा आरोग्य मिल्ने धार्मिक विश्वास छ । परिवारलाई रोगबाट जोगाउन र दीर्घायुका लागि यमको नाममा दीपदान गरेर परिवारमा आरोग्यको कामना गरिन्छ ।
साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन धान्यधिपतये धन धान्यसमृद्धिममदेहीदापय स्वाहा’ यस मन्त्र जप गर्नु फलदायी मानिन्छ । यस दिन श्रीयन्त्रको पनि पूजा गरिन्छ । धनतेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले पैसाको कमि नहुने धार्मिक विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया