कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

लोकपथ
84
Shares

म्याग्दी ।  चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । 

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । ‘हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमति पत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्, ’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?