काठमाडौं । हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौँ र अर्को ठूलो चाड तिहार मनाउँदै छौँ । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठूलो चाड हो ।
यो चाड कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । तर यो वर्ष तिथि घटबढका कारण ६ दिन रहेको छ । तिहार भनेको प्रकृति पूजक पर्व पनि हो ।
धर्मशास्त्र, प्रचलन र लोकोक्तिले तिहारको प्रष्टसँग व्याख्या गरेको पाइन्छ तर फरक–फरक रूपमा । तिहारका पाँच दिनको फरक–फरक महत्व छ । तिहारकै सेरोफेरोमा पर्ने अन्य पर्व तथा दिवसले यसमा रौनक थप्ने गरेको छ ।
धर्मशास्त्र, प्रचलन र लोकोक्तिले तिहारको प्रष्टसँग व्याख्या गरेको पाइन्छ तर फरक–फरक रूपमा । तिहारका पाँच दिनको फरक–फरक महत्व छ । तिहारकै सेरोफेरोमा पर्ने अन्य पर्व तथा दिवसले यसमा रौनक थप्ने गरेको छ ।
हिन्दु धर्मावलम्बीले दीपावली (दिवाली) को रूपमा यस पर्वलाई नेपाललगायत विश्वका थुप्रै देशमा धुमधामका साथ मनाउँछन् । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाई तिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोबर्धनपूजा वा गोरु तिहार भनिन्छ । यस दिन गोबर्धन पर्वत र गोरुको पूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो । यो वर्ष भने कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी कागतिहार मनाउने गरिन्छ । काग अत्यन्त चतुर र चलाख पंक्षी हो । कागका लागि भात, रोटी, मिठाइ तथा विभिन्न परिकार दुना वा टपरीमा राखिदिएर पूजा गर्ने चलन छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाइ खुवाउने गरिन्छ । कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ ।
कुकर तिहार
कुकुर आज्ञापालक तथा घरको रक्षकका रूपमा मानिन्छ । कुकुरलाई मीठा–मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास पनि रहिआएको छ । अर्को तथ्य के पनि छ भने कुकुर भगवान् शिवको विध्वंसकारी अवतार भैरवको वाहन हो । भैरवको कोपभाजनबाट जोगिनसमेत कुकुरको पूजा गरिने जनविश्वास छ ।
गाई तिहार अथवा लक्ष्मीपूजा
हिन्दु धर्ममा गाईलाई पवित्र प्राणीका रूपमा पुज्ने चलन छ । धार्मिक कार्यमा गाईको गोबर र गहुँतको भिन्दै महत्व छ । पशुधनका रूपमा लिइने गाईलाई गाई तिहारका दिन विशेष पूजा गरिन्छ । गाईको गहुँत औषधीका रूपमा प्रयोग गर्ने चलनका कारण पनि यसलाई महत्व दिइएको हो । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर गाई तिहारको बेलुका लक्ष्मीपूजा गरिन्छ ।
लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, सेल रोटी, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेल रोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।
लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, सेल रोटी, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेल रोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।
गोरु तिहार गोबर्धन पूजा
गोरु तिहार अर्थात् गोबर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । गोरु र हलोले खेत जोती अन्न फलाएर कृषिको विकासमा र मानिसको जीवनमा क्रान्ति नै ल्याइदियो । त्यही भएर गुन तिर्न गोरुको पूजा गरेको हुनुपर्छ ।
भाइटीका
भाइ तिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । भाइटीकाले चेलिबेटी र दाजुबहिनीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरंगी टीका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना दिदिबहिनीकोको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटीका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।
कसरी मनाउने भाइटीका ? यस्तो छ विधि
-टीकाको दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको पूजा गर्ने । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
-भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ ।
-दियो, कलश र गणेशको पूजा गरी बिमिरोको पूजा गर्ने ।
– दाजुभाइको मंगल कामना गर्दै ढोकामा ओखर फुटाउने ।
– दाजुभाइ बसेको वरिपरि पानी र तेलले सात घेरा हाल्ने ।
– फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने ।
-सगुनका रूपमा दही खुवाउने।
– निधारमा सप्तरंगी टीका लगाएर मखमली, सयपत्रीको माला लगाइदिने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया