सरकारसँग असन्तुष्ट विपक्षीहरु : मिलानको एजेण्डा नभेटिँदा दलमा अलमल

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनको यात्रा पार गरेर आगामी यात्रा तय गरेको छ । यस अवधिमा सरकारले आफ्नो उपलब्धीहरु सार्वजनिक गर्यो । तथ्यांकमा सय दिन सन्तोषजनक काम गर्न सकेको सरकार पक्षले दाबी गरिरहँदा विपक्षी भने त्यसमा सहमत छैनन् ।

निर्वाचनपछि केही दलबाहेक सबै दल सरकारमा पुगेकै थिए, छन् । राजतन्त्रवादीदेखि गणतन्त्रवादीसम्म, संसदीय व्यवस्थाको आफूलाई हिमायती मान्नेदेखि कुनै दिन संसदीय व्यवस्थाको घोर विरोधीसम्मको गठबन्धन बनेकै हो । अहिले संसद्को दुई ठुला पार्टी त्यो पनि सैद्धान्तिक हिसावले फरक कित्तामा उभिनेहरु एक ठाउँमा छन् ।

‘म त के निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन तपाईंका विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ?’ हालका गृहमन्त्री रमेश लेखकले २०८० फागुन २४ गते संसद्को रोस्टममा उभिएर भनेका थिए । तत्कालीन सरकार प्रमुख माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेलाई निर्वाचनपछि पालैपालो धोका दिएपछि आएको अभिव्यक्ति थियो त्यो । लेखकको भनाइ नै सही । अहिले ती धोका पाएका कांग्रेस र एमाले एक ठाउँमा उभिएका छन् । विपक्षी कित्तामा पुगेको माओवादीलगायतका दलहरु सरकारसँग असन्तुष्ट छन्, आलोचना गर्दैछन् र मौका मिले आन्दोलन गर्ने मनस्थितिमा छन् । यसैबीच यदि यो सरकारको विकल्प खोजिए अर्को विकल्प के भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

यही मेसोमा पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले आन्दोलन गरिरहेको छ । सरकारसँग असन्तुष्टिकै बीच सभापति लामिछाने पक्राउ परेपछि आन्दोलनको मसला पाएको रास्वपाले राजनीतिक प्रतिशोध सरकारले आफूहरुमाथि साँधेको आरोप लगाइरहेको छ । रास्वपाले केही दिन रविलाई केन्द्रमा राखेर पोखरामा आन्दोलन गर्यो । तर ‘रवि’ व्यक्तिका पछि जनसमर्थन घट्न थालेपछि अहिले रास्वपाको त्यो मुद्दा मोडिएको छ । सहकारीपीडित र सुशासनको पक्षमा तथा भ्रष्टाचारको विरोधलाई मुख्य केन्द्र बनाएर रास्वपाले आन्दोलन गरिरहेको छ ।

रास्वपा चाहन्छ, अन्य विपक्षी दलहरु पनि आन्दोलनमा आउन् । सडकमा खुम्चिँदै गएको जनसमर्थनका कारण पार्टीगत झण्डा छाडेर राष्ट्रिय झण्डा बोकेर आन्दोलन गरिरहेको रास्वपा अन्य राजनीतिक दलहरुलाई समेत आन्दोलनको मोर्चामा ल्याएर सरकारलाई थप तर्साउँदै आफूलाई थप सशक्त प्रतिपक्ष बनाउन चाहन्छ । यसैबीच माओवादी केन्द्रले काठमाडौंमा केही दिनअघि खबरदारी सभा गरेपछि छरिएर आन्दोलन गरिरहेका दलहरु एक ठाउँमा पो आउने हुन् कि भन्ने कुराले सरकारको मनमा समेत चिसो पसेको छ ।

‘बिरालो त समात्ने तर त्यसको म्याउ गर्ने ठाउँमा कसले समात्ने’ भन्ने नेपाली उखान जस्तै बनेको छ विपक्षी दलको आन्दोलनको विषय । विपक्षीमा रहेका सबै दलहरु आफ्नै नेतृत्वमा आन्दोनल होस् भन्ने चाहिरहेका छन् । तर आन्दोलनका लागि दलहरुलाई एक ठाउँमा ल्याउने मिलानको मुद्दा केलाई बनाउने भन्नेमा दलमा अन्यौलता देखिएको छ ।

तत्काल अन्य दलहरुसँग मिलेर आन्दोलनमा गइहाल्ने मनस्थितिमा नदेखिएको माओवादी एमाले–कांग्रेसबीचको गठबन्धन कुनै मोडमा टुटेमा त्यसको फाइदा उठाउने दाउमा देखिन्छ ।

भर्खरै उदाएको रास्वपा, १० वर्षे क्रान्ति गरेर आएको माओवादी, गणतन्त्रको २ दशक पुग्न लाग्दा पनि राजाको मुद्दा बोकेको राप्रपा र एमालेसँग छुटिट्एको एकीकृत समाजवादी । विपक्षीमा रहेका दलहरुको सैद्धान्तिक भिन्नता पूर्व र पश्चिमको छ । कतै माओवादी आन्दोलनको अग्रपंक्तिमा हुँदा आफ्नो मुद्दा किनारा लाग्ने पो हो कि भन्ने रास्वपा र राप्रपाहरुको पिर । देशमा राजनीतिक संकट देखिँदा त्यसको निवारणकर्ता राजालाई देख्ने राप्रपाले संयुक्त आन्दोलनबाट राजाकै मुद्दा अघि सार्ने पो हो कि भन्ने माओवादीको पिर । पिरैपिरको भुमरीमा पिल्सिएका माओवादी–रास्वपा–राप्रपा एक अर्कासँग आन्दोलनका लागि मुख खोल्ने परिस्थितिमा छैनन् । खबरदारीसभा गरेर सरकारलाई झस्काएको दाबी गरिरहेको माओवादीसमेत अन्य दलहरु माओवादीलाई नेतृत्व गर्न लगाएर आन्दोलन अघि बढाओस् भन्ने चाहन्छ ।

आन्दोलन गरेर आफ्ना मुद्दाहरु स्थापित गर्न चाहेका दलहरु अहिले ‘कमन ग्राउण्ड’ को खोजीमा छन् ।

‘सबैको एजेण्डा एकै भएमा हामी मिलेर जान सक्छौँ । सबैको कमन ग्राउण्ड हुनु पर्यो । सुशासन, भ्रष्टाचारको अन्त्यलगायतका विषय हाम्रो साझा हुनुपर्यो । तर कुनै दलले आफ्नो राजनीतिक मुद्दालाई ल्याएर आन्दोलनमा मिसिएमा फेरि त्यो सफल नहोला,’ रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाको आशंका छ ।

पुराना दलहरुलाई धारे हात लगाउँदै छोटो समयमा सुशासनको मुद्दा अघि सारेर उदाएको रास्वपालाई तिनै पुरानाहरुसँग कुम जोड्दा कतै आफूहरु पनि पुरानै दलकै बाटोमा हिँड्यो भन्ने आरोपबाट बच्न चाहन्छ रास्वपा । ‘नेपाली कांग्रेसलगायत दलको विधानमा नै भ्रष्टाचारको अन्त्य, सुशासन, स्वतन्त्र न्यायपालिका सबै छ । तर उनीहरुले त्यो कुरालाई व्यवहारिक रुपमा मानेका छन् त ? त्यस्ता पार्टी र प्रवृत्तिसँग हामी मिलेर त आन्दोलन सफल बनाउन सक्दैनौँ नि,’ उनले भने ।

अहिले रास्वपा आन्दोलनको नेतृत्व गरिरहेका मनिष झामा माओवादी चरित्रप्रति समेत शंका छ । सत्ताका लागि जुनसुकै गठबन्धनका लागि तयार हुने माओवादी चरित्र देखेका उनले सडकमा आन्दोलन र सरकारवादी दलको एक पक्षसँग साँठगाँठ एकैपटक हुनसक्ने भएमा आन्दोलन गिजोलिएका कि भन्ने शंका छ ।

‘आन्दोलनका लागि सडकमा आइसकेपछि सबै दलले आफ्नो इमान्दारिता देखाउनुपर्यो,’ उनले भने, ‘माओवादी हामीसँगै मिलेर आन्दोलन चाँही गर्ने तर एमाले पनि मिलाउने, कांग्रेस खुसी बनाउन पनि लाग्ने भएमा त त्यसमा इमान्दारिता नहोला ।’

रास्वपाले विपक्षीसँग कमन ग्राउण्डको खोजीमा रहेको बताउँदै गर्दा माओवादी केन्द्र भने तत्काल आन्दोलनको मुडमा देखिँदैन । गत शनिबार गरेको खबरदारी सभालाई नै सरकारविरोधी आन्दोलनको रुपमा आम बुझाइ विकसित भएपछि त्यसलाई केवल खबरदारी सभाकै रुपमा बुझाउन माओवादी लागेको छ ।

‘अहिले नै आन्दोलनको बारेमा सोचिसकेका छैनौँ । हामीले अस्तिको दिन गरेको कार्यक्रम खबरदारी सभा मात्रै थियो, त्यसलाई नै सरकारविरुद्ध आन्दोलन नै हो होइन भनेर बुझ्नु हुँदैन,’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकपथलाई बताए ।

दलहरुबीच आन्दोलनको एजेण्डामा सहमति जुटेमा आन्दोलनमा जानसक्ने उनको धारणा छ । ‘यदि मुद्दा मिल्ने कुरा आएमा हामी जान सक्छौँ । तर अहिले नै त्यसबारेमा हामीले सोचिसकेका छैनौँ,’ उनले भने ।

तत्काल अन्य दलहरुसँग मिलेर आन्दोलनमा गइहाल्ने मनस्थितिमा नदेखिएको माओवादी एमाले–कांग्रेसबीचको गठबन्धन कुनै मोडमा टुटेमा त्यसको फाइदा उठाउने दाउमा देखिन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कसैलाई मान्नु हुँदैन भन्दै पटकपटक जुनसुकै गठबन्धन गर्ने अध्यक्ष प्रचण्ड सत्ताको कसौडीमा नयाँ खिचडी पाकेमा त्यसको स्वाद लिने दाउमा छन् ।

अहिले नै आन्दोलनमा जाने तयारी नरहेको नारायणकाजीको भनाइलाई प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइले थप बल पर्याएको छ । अहिले पार्टीमा आन्दोलनको तयारीका विषयमा कुनै छलफल नभएको उनले बताए ।

‘कुनै आन्दोलनको कार्यक्रम तय गर्ने गरी पार्टीमा छलफल नै भएको छैन । हामीले पालिकास्तरमा पहिला खबरदारी सभा गरेर त्यसपछि मात्रै के गर्ने भन्ने निष्कर्ष निस्किएला,’ उनले भने ।

रवि पक्राउ परेको विषयलाई मुख्य मुद्दा बनाएर सडकमा ओर्लिएको रास्वपासँगै आन्दोलनको सहयात्री बन्न पुगेमा आफ्ना मुद्दा किनारा लाग्ने बुझेको माओवादी नयाँ एजेण्डा लिएर रास्वपा आए साथ दिने मनस्थितिमा भने देखिन्छ ।

सरकारविरुद्ध आन्दोलन गरिरहेको दल रास्वपाले माओवादीलगायत विपक्षीको समेत साथ खोजिरहेको छ नि ? भन्ने लोकपथको प्रश्नमा सापकोटाले भने, ‘त्यो उहाँहरुको कुरा होला । दल विशेषले एउटा मुद्दाको लागि गरेको आन्दोलनमा सरिक हुने कुरा त भएन । साझा मुद्दा बनाएर जाने भन्ने भएमा सहमति हुन सकिएला तर अहिले हामीले त्यसबारे सोचेका छैनौँ ।’

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनालाई नै आफ्नो ठुलो उपलब्धि मान्ने माओवादीलगायतका दलहरुसँग यसअघि मिल्दा राप्रपाले ठुलो आलोचना बेहोर्नुपरेको छ । राजा अति मान्ने र राजालाई मान्दै नमान्नेहरु एक ठाउँमा आउँदा राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा बिर्सिएको र माओवादीले गणतन्त्रको मर्म भुलेको आरोप छ । यहीबीचमा चलेको विपक्षीहरुको मोर्चाबन्दी गर्ने चर्चामा सैद्धान्तिक भिन्नताले नै आन्दोलनलाई संयुक्त स्वरुपमा ल्याउन भने दलहरुलाई कठिन मात्र होइन महाकठिन देखिन्छ ।

त्यसो त राप्रपा गत निर्वाचनपछि सुरुमै संसद्को दुई ठुला दल मिलेर सरकार बनाओस् भन्ने चाहन्थ्यो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त निर्वाचन सम्पन्न भइ नयाँ सरकार बन्नुअघि नै एमाले–कांग्रेस मिल्नुपर्छ भन्ने लाइनमा थिए । तर एमाले–माओवादीसहितको सरकारमा सामेल भएको केही समयपछि प्रतिपक्षमा बसेको राप्रपा अहिले सरकारको कामकारबाहीप्रति सन्तुष्ट छैन । दुई दलबीचको मिलानको दम्भले भ्रष्टाचार मौलाएको आरोप लगाइरहेका लिङ्देन यही अवस्थामा सरकारको गति अघि बढाएर आफ्नो मति सुधार नगरेमा आन्दोलनको परिस्थिति आउने बताउँछन् । तर अहिले नै राप्रपाले कुनै धारणा बनाइनसकेको समेत उनले बताए ।

‘जसरी संसद्का दुई ठुला दलहरु मिलेर सरकार बनाएका छन् । त्यसमा लोभीपापी साना दलहरु समेत सामेल रहेका छन् । त्यसैको जगमा सरकारले आफ्ना अकर्मन्यताहरु देखाउन थालिसकेको छ,’ उनको धारणा छ, ‘त्यसविरुद्ध खबरदारी गर्नुपर्ने अवस्था देखिन थालेको छ ।’

अन्य दलहरुले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा साझा मुद्दा बनाएर अघि बढ्ने परिस्थिति आएमा आफूहरुको साथ रहने उनले बताए ।

‘अहिले त्यस्तो कुनै अवधारणा र खाका बनिसकेको भने छैन । तर सबैको साझा मुद्दा भ्रष्टाचारको र विरोध सुशासन कायम हो भने त हामी पनि त्यसमा साथ दिइहाल्छौ नै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?