उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

लोकपथ
273
Shares

काठमाडाैं । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।

फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन् । उनले अहिलेको आफूहरूको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौँ हामी जित्छौँ भन्ने नारा नै’ रहेको प्रस्ट पारिन् । उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ । हाम्रो टिम बण्डिङ पनि राम्रो छ ।’

सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनी रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रस्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमिकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।

यसैगरी, बंगलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।

यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ । दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?