एन्फाको निर्णय : साफ फाइनलको टिकट आफैँले बेच्ने

लोकपथ
735
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ ।  

नेपाल–भारतबीचको सेमिफाइनलमा क्षमता भन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले अब टिकट बिक्रीको जिम्मा आफैँले लिने निर्णय गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ ।

एन्फाका टुर्नामेन्ट (प्रतियोगिता) निर्देशक सञ्जीव मिश्रले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिने बताउँदै १० हजार टिकट साधारणतर्फ र एक हजार टकट भीआईपीतर्फ उपलब्ध हुनेछन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको भए पनि अनलाइन टिकट किनेकाहरूको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

टिकट बिक्रीका लागि एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानमा काउन्टर राखिनेछ । टिकटको मूल्य साधारणका लागि पाँच सय र भीआईपीका लागि एक हजार रुपैयाँ तोकिएको छ ।

टिकटमा सीमा निर्धारण गरिएका छन्; साधारण प्राध्यापिका लागि एकजनाले बढीमा पाँचवटा र भीआईपीका लागि दुईवटा मात्र टिकट किन्न पाउनेछन् । साथै, एन्फाले दर्शकहरूलाई साँझ पाँच बजेभित्र रंगशाला प्रवेश गरिसक्न आग्रह गरेको छ ।

फिफा नियम अनुसार, रंगशालाको कुल क्षमताको २० प्रतिशत कम मात्र टिकट बिक्री गर्नुपर्नेमा सेमिफाइनलमा नियम उल्लंघन भएको एन्फाको ठहर छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले यसअघि खल्तीबाट भिआइपी तर्फ किनिएको टिकटको पैसा फिर्ता गर्न आफूहरूले भनिसकेको जानकारी दिए ।

उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडाले यसअघि टिकट बिक्रीको जिम्मा पाएको कम्पनीले बदमासी गरकोले एन्फा आफैले टिकट बिक्री गर्न लागेको जानकारी दिए ।

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ । फाइनल खेलमा उपस्थिति जनाउने खेल प्रेमीहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै एन्फाले केही सामग्रीहरू रंगशाला भित्र लैजान निषेध गरेको जानकारी गराएको छ ।

बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धूम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाई आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ ।

सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ । त्यसैगरी अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन ।

पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनै पनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको एन्फाले जनाएको छ ।

यो पनि : नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?