काठमाडौं । सरकारको विरुद्ध आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले प्रहरी हिरासतमै अनसन सुरु गरेका छन् ।
मंगलबार दिउँसो बालुवाटारमा प्रदर्शनका क्रममा नेता बमसहित अन्य रास्वपा समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरी अहिले प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ । राजनीतिक प्रतिशोध साँधेर सरकारले सभापति लामिछानेलाई पक्राउ गरेको भनेर आन्दोलन गरिरहेका बमले राजनीतिक प्रतिशोधको विरुद्ध भन्दै प्रहरी हिरासतमै अनसन सुरु गरेका हुन् ।
रास्वपा सांसद सोविता गौतमले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी दिएकी हुन् ।
‘बालुवाटारको गल्लीमा न ब्यानर थियो, न नाराको गुञ्जन, न त भिड नै थियो। तर अधिनायकको आदेशमा सांसद र निर्दोष नागरिकलाई मुक्का हान्दै गिरफ्तार गरियो। राष्ट्र बैंक पुगेकाहरू समेत थुनिए—यो लोकतन्त्रको नाममा दमन होइन र ? पुकार बममाथिको दमनको कडा भर्त्सना गर्दछु । उहाँ अहिले यो दमन विरूद्ध निर्जल, निराहार दरबारमार्ग प्रहरी कार्यालयमा अनशनमा बस्नुभएको छ,’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया