पक्राउ परेको १२ दिनमा आज सक्दैछ प्रहरीले रवि लामिछानेको बयान

लोकपथ
497
Shares

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँगको बयान अन्तिम चरणमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँग अहिले पनि बयान लिने काम भइरहेको छ । हिजो मंगलबार बयान पूरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।

अस्ति मंगलबार पनि लामिछानेसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछाने कात्तिक २ मा रास्वपा कार्यालय वनस्थलीबाट पक्राउ परेका थिए ।

अहिलेसम्मको बयानमा उनले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइनँ ।’ सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका पूर्वडीआईजीपी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईविरुद्ध पनि पक्राउ पूजी जारी भएको छ । तर, उनी अहिलेसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?