न्युयोर्क सहरको इतिहासमै पहिलोपटक दीपावलीको अवसरमा विद्यालय बन्द हुने

लोकपथ
42
Shares

न्युयोर्क । इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।

‘यस वर्षको दीपावली विशेष छ । न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,’ मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले भने ।

‘११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन,’ चौहानले भने, ‘विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरुले धेरै वर्षदेखि यस विषयमा पहल गरिरहेका थिए । अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको छ ।’ चौहानले दीपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

चौहानले भने, ‘मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ । सबैलाई दीपावलीको शुभकामना ।’ यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो । यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो । यसैबीच, अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरीका भारतीय मुलका अमेरिकीहरूलाई उपस्थित हुन आमन्त्रित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?