कार्तिकमा मात्रै चारवटा गैँडा मृत फेला

लोकपथ
63
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कार्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएको निकुञ्जले जनाएको छ । 

नवलपुरको मध्य विन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कार्तिक ५ गते मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । 

अनुसन्धानपछि उक्त गैँडा काल गतिले मरेको पाइएको उनले बताए ।

कार्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कार्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उनले बताए । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको  छ । 

‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको संख्या १० पुगेको छ’, सूचना अधिकारी मगरले भने ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कार्तिक १ गतेदेखि हालसम्म उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिविना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरी निकासी गर्ने चार र तियारी जालको प्रयोग गरी माछा मार्ने तीन जनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?