काठमाडौं । फूलैफलको चाड तिहारले यतिबेला छपक्कै छोपिसकेको छ । किसानदेखि व्यापारीसम्मलाई फूल बेच्न भ्याईनभ्याई छ । तिहार जस्ता चाडबाडमा फूलको व्यापार राम्रो हुने र आम्दानी पनि मनग्य हुने हुँदा नेपाली किसान फूलखेतीतिर आकर्षित हुँदै आएका छन् ।
नागार्जुन नगरपालिका वडा नम्बर ५का फूल किसानलाई यतिबेला फूल टिप्न भ्याइ नभ्याइ छ । विगतका वर्षमा भन्दा यस वर्ष फूल खेती फस्टाएपछि किसान दंग छन् । तिहारमा फूलको राम्रो व्यापार हुनेमा आशावादी यस क्षेत्रका किसान आम्दानी पनि राम्रो गर्ने आशामा छन् । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै अन्य स्थानमा पनि पठाउने गरेको फूल किसानहरू बताउँछन् ।
यस वर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न तथा प्रदूषण कम गर्न भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिक मालाको आयात तथा बेचबिखनमा प्रतिबन्ध लगाएपछि यस क्षेत्रका किसानमा सयपत्री फूलको मालाको राम्रो व्यापार हुने विश्वास छ ।
यो वर्ष नागार्जुन नगरपालिका आद्देश्वरका फूल किसानले उत्पादन गरेको फूल बढी खपत भएको फूल व्यापारी गौतम तामाङ बताउँछन । विगतको वर्षको तुलनाका यस वर्ष फूल को उत्पादन पनि बढेकाले विदेशबाट आयात हुने प्लास्टिकका फूलहरू विस्थापित हुने उनले बताए ।
बारीमा ढकमक्क फूल फूलेको र भर्खरै तिहार सुरु भएकाले यो अवधिमा यहाँ उत्पादित सबै फूल खपत हुने उनको विश्वास छ ।
करिब ३ रोपनी क्षेत्रफलमा फूल खेती गरेकी झरना गोले तामाङ फूल खेतीका लागि धेरै मिहिनेत गर्नुपर्ने बताउँछिन् । मिहिनेत गरेअनुसार यो वर्ष राम्रो उत्पादन भएको र यसले उचित बजार पाएमा नोक्सानी नहुने उनी बताउँछिन् ।
नागार्जुन नगरपालिकामा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले यस क्षेत्रका किसान व्यवसायीक रूपमा फूल खेतीमा आकर्षित भएका छन् । चाडबाडमा मात्रै नभएर अन्य समयमा पनि फूलले बजार पाउने हो भने जीवनयापन सहज हुने किसानहरूको भनाइ छ । सरकारले किसानले उत्पादन गरेको फूलको उचित व्यवस्थापनमा ध्यान दिने हो भने यस व्यवसायबाट मनग्य आम्दानी मात्रै होइन रोजगारीका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको पनि अन्त्य हुने थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया