विद्यार्थीद्वारा तिहार लक्षित फूल उत्पादन

लोकपथ
56
Shares

गुल्मी । चन्द्रकोट गाउँपालिका–८ स्थित तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले तिहारका लागि फूल उत्पादन गरेका छन् ।  उक्त शिक्षालयमा तीनवर्षे डिप्लोमा कृषि बाली विषय अध्ययनरत विद्यार्थीहरूले सयपत्री र मखमली फूलको बगैँचा तयार गरेका हुन् ।

उक्त बगैँचाले मजुवा बजारकै शोभा बढाएको छ । सिटिइभिटीसँगको सम्बन्धनमा विसं २०७८ मा स्थापित उक्त शिक्षालयले विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले १० रोपनी जग्गा भाडामा लिएर कृषि अभ्यास गराउँदै आएको छ ।

कृषिलाई उद्यमशीलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत विभिन्न अभ्यास गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताए । 

उत्पादन मात्रै नभएर बजारसँग जोड्न चाडपर्व लक्षित मखमली र सयपत्री फूल रोपिएको उनले बताए । तीन रोपनीमा फूल र सात रोपनीमा तरकारी लगाइएको छ ।

बगैँचामा उत्पादित फूलको माग धेरै छ । स्थानीय बजारसँगै बुटवल, नवलपरासी र चितवनमा समेत फूल बिक्रीका लागि पठाएको शिक्षालयमा कार्यरत कृषि प्राविधिक रोशनी बन्जाडेले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?