डीपीको चेतावनी– ‘मेरो अनुमति बिना सूचना सामाजिक सञ्जालमा आयो, कानुनी प्रक्रियामा जान्छु’

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले आफ्नो अनुमति बेगर आफ्ना सूचनाहरु सामाजिक सञ्जालमा ल्याएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

सभापति रवि लामिछाने पक्राउ परेसँगै उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई भेटेको र भेट्नलाई समय माग गर्दै म्यासेज पठाएको भन्दै सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

पूर्वमन्त्री समेत रहेका अर्यालले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट्न उनको स्वकीयलाई गरेको म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध–संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ । सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ ।

मैले मेरो निजी टेलिफोनबाट को सँग, के–के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैर–कानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पु¥याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस् । कानुनी प्रक्रियामा जाने नै छु,’ उनले भनेका छन् ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । सरकारविरुद्ध आन्दोलन गरिरहेका उनीसहित रास्वपाका नेताहरुले रविको मुद्दा मिलाइदिन आग्रह गरेको भन्ने विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । लामिछाने कानुनी प्रक्रियाबाट अघि बढिसकेको अवस्थामा त्यसलाई प्रभावित पार्ने खोजेको आरोप लगाइएको भन्दै आफूहरुले कानुनी प्रक्रियाबाटै न्याय पाउने विश्वास रहेको समेत बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ । सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढङ्गबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?