सरकारको आयुबारे प्रधानमन्त्री ओली नै छैनन् विश्वस्त

प्रधानमन्त्रीमाथि निरन्तर प्रहार भयो, चनाखो होऔं : सरकारका प्रवक्ता

काठमाडौं । राजनीतिकर्मीहरूले अर्को चुनावको बारेमा सोच्छन्, त्यसैले हामीले २०८४ भनिरहेका छौँ, तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन् । हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन । प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ । त्यसैले अर्को चुनाव होइन, अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन् ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भनेका कुरा हुन् माथिका हरफ ।

वास्तवमा कांग्रेस महामन्त्री गगन थापाले भनेजस्तै अवस्था छ अहिलेको । राजनीतिक अस्थिरता बढेको निष्कर्षसहित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको चार महिना पूर हुन केही दिन मात्रै बाँकी छ, तर सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली स्वयं नै आफ्ना हरेकजसो भाषणमा ‘सरकार नढल्ने’ अभिव्यक्ति दिइरहेका छन् । सरकार बनेको सय दिन पूरा हुनुभन्दा केही दिनअघि र सय दिन पुगिसकेपछिका दिनमा सरकार परिवर्तन हुने कुनै ठोस चर्चाबिना पनि प्रधानमन्त्री र मन्त्रीहरुको यस्ता अभिव्यक्ति आइरहेका छन्, जसलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीले प्रहरी दिवसको अवसरमा प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा २ वर्षे आफ्नो कार्यकाल पूरा हुनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । त्यसबेला सरकारको सय दिने ‘हनिमुड पिरियड’ पूरा हुन बाँकी नै थियो । सुरक्षा निकायको जस्तो वार्षिक समारोहमा सरकार परिवर्तन कुरा उठाउँदै उनले भनेका थिए, ‘अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दसैँपछि ? २०८४ सालको दसैँ–तिहारपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु । मेरो एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफैं फेरिन्छ यो सरकार ।’

त्यसो त सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा दिएको सन्देशमा पनि यही विषयलाई पनि उठाएका थिए । त्यस दिन ओलीले भनेका थिए, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउन गरिएको छ, यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।’

ओली त्यतिमै रोकिँदैनन् । विपक्षी दलहरुले मोर्चाबन्दी बढाउँदै सडक केन्द्रित आन्दोलन तय गरेपछि उनले सत्ता साझेदार दलहरुको बैठक राखेर संयुक्त वक्तव्यसमेत जारी गराइसकेका छन् । सत्तारुढ दलभित्रको असन्तुष्टि र विपक्षी दलहरुको मोर्चापछि सत्तापक्षका सात दलको बैठकले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको निष्कर्ष निकालेको थियो ।

गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको दाबी गरेका छन् । गत शुक्रबार बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए । उनको भनाइ थियो, ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ, आज बदलिन्छ, भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

तर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ देशी–विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा लागेको बताउँछन् । देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए ।

एमाले उपमहासचिव समेत रहेका सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टीपंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । उनले भने, ‘नयाँ पार्टीहरुले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरुले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । हामो अध्यक्षलाई कसरी एक्ल्याउने भनेका छन् ?प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा सतर्कता खै ? यो मुलुकका लागि केही न केही योगदान गरिएको छ । निःस्वार्थ रुपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर उनी जहाँ जाँदा पनि किन नारा लागिरहेको छ ? त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौँ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रविरुद्धमा बोल्ने कोही छैन ।’

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बीचमा गत १७ असारमा भएको ७ बुँदे सहमतिमै यी दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने पनि लिपिबद्ध गरिएको छ । पहिलो चरणमा एमाले र दोस्रो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्ने भनिएको छ । अब ओलीपछि प्रधानमन्त्री हुने पालो कुर्दैछन् कांग्रेस सभापति देउवा ।
ओलीपछि २०८४ को निर्वाचन कांग्रेस सभापति देउवाले गराउनेगरी सत्ता हस्तान्तरणको सहमति भएको थियो । दुवै दलले अहिलेसम्म यो सहमतिबाट पछि हट्ने कुनै पनि संकेत दिएका छैनन् । कांग्रेस सभापति देउवाले त सार्वजनिक रुपमा नै सरकारको सय दिन राम्रो भएको र आफू दुई वर्षपछि प्रधानमन्त्री बन्न लागेको बताइसकेका छन् ।

‘यो सरकारको १०० दिन राम्रो भयो, दुई वर्षपछि म प्रधानमन्त्री बन्ने सहमति छ’, देउवाले एक कार्यक्रममा भनेका थिए ।प्रधानमन्त्री ओलीले भनेजस्तै ‘इतिहास र हैसियत भएका दलहरु’ मिलेर बनाएको सरकार बीचमै ढल्ने चर्चा किन भयो ? त्यसमा सत्तारुढ दलकै नेताका अभिव्यक्तिले पनि शंका गर्ने ठाउँ दिएको छ । सत्तारुढ दलकै नेताहरुले सरकारको स्थायित्वबारेमा अभिव्यक्ति दिनुपर्ने बाध्यता पनि अहिले आइलागेको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौला भने विपक्षीहरुले सरकार ढल्दैछ भन्ने हल्ला चलाएपछि प्रधानमन्त्री ओलीले जवाफ दिनु परेको बताउँछन् । उनी भन्छन्, ‘विपक्षी दलका नेताहरु सरकार बनेदेखि आजसम्म सरकार आजै ढल्छ, भोलि ढल्छ, सरकारमा भएका दलहरुबीच अविश्वास बढ्यो, काम गर्न सकेन भनेर हरेक दिन सरकारको आयु तोकेर जनतामा भ्रम सिर्जना गर्ने, निर्णय प्रक्रियाको सन्दर्भमा अस्थिरता पैदा होस् भन्नेखालको वातावरण सिर्जना गर्ने काम विपक्षीहरुबाट भइरहेको छ । त्यसकारण प्रधानमन्त्रीले बाहिर यस्तो विषय उठेको छ, तर वास्तविकता यो हो भनेर भन्नुभएको हो ।’

उनले थपे, ‘यो शीर्ष नेताहरु नै सरकार गठनको लागि सहमत भइसकेपछि अरुको इच्छा, आकांक्षा पूरा भए भएन भन्ने कुराको अर्थ हुँदैन । यो सरकारलाई सहमतिअनुसार पूरै कार्यकाल चलाउने सहमति भएपछि बाँकी कुराले केही अर्थ राख्दैन । सत्ता साझेदार दलहरुबीच कुनै पनि असमझदारी छैन । सरकार निर्माण गरेको सय दिनमात्रै भएको छ । ठूलो विपद्को सामना गर्नुपर्‍यो । सरकारले कामको गति लिँदैछ ।’

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेसभित्र अहिले असन्तुष्टि चर्किंदो क्रममा छ । शेखर समूहले त घोषित रुपमै विरोध जनाइराखेको अवस्था छ, देउवाकै समूहभित्र पनि धेरै असन्तुष्ट छन् ।

एमाले नेता बर्ताैला भने दलका विशेष नेताहरुले उठाएको सुझावलाई अविश्वासको रुपमा बुझ्न नहुने बताउँछन् । गठबन्धनको सरकार हुँदा दलगत असन्तुष्टि आउनु स्वाभाविक भएको उनको भनाइ छ ।

कांग्रेसमा देखिएको असन्तुष्टिबारे बर्तौलाले भन्छन्, ‘आफूले चाहे जस्तो हुँदैन । त्यसो त एमालेलाई पनि अर्को दलले नेतृत्व गरेको मन्त्रालयबाट यस्तो भइदिएको भए हुुन्थ्यो भन्ने लाग्छ । यस्ता सुझावलाई सकारात्मक रुपमा लिनुपर्छ । विविधताको बीचमा शीर्ष तहमा समझदारी गरेर एकताबद्ध भएर अघि बढ्नुपर्छ । संसदको गणित यस्तै छ ।’

कांग्रेसभित्रको असन्तुष्टि र विपक्षी दलहरुको बढ्दो मोर्चाबन्दीपछि प्रधानमन्त्री ओली आफैंले सरकारको भविष्यबारे विश्वास दिलाउनुपर्ने अवस्था आएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भने प्रधानमन्त्रीले सरकारको आयु तोकेर कांग्रेसलाई थामथुम पार्न खोजेको बताउँछन् । शक्तिशाली बहुमतको प्रधानमन्त्री बने पनि काम देखाउन नसकेपछि आफ्नो असफलतालाई ढाक्न प्रधानमन्त्री ओली आफैले यी विषयको उठान गरेको चन्द्रकिशोरको विश्लेषण छ । कांग्रेसलाई विश्वास दिलाएर प्रधानमन्त्री ओलीले आफ्नो असफलता ढाक्न खोजेको उनको टिप्पणी छ ।

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि बढ्दै गइरहेको बताउँछन् । दुई तिहाइको सरकार भएपनि प्रधाननमन्त्री ओलीलाई संसदको गणितले नभई जनताको आक्रोशले सरकार जाला कि भन्ने डर बढेको आफ्नो बुझाइ रहेको उनी बताउँछन् ।

‘विभिन्न बहानामा अहिले पनि सडक तातिरहेको छ । चाडपर्वपछि झन् तात्नसक्छ । उहाँले प्राविधिक रुपमा आफ्नो सरकार ठीक छ भनिराख्नुभएको छ, तर जनताले यो सरकारले काम गरेन भनिराखेकै छन् । उहाँको पार्टी र कांग्रेस पनि सरकारले राम्रो काम गर्‍यो भनेर बाहिर आइरहेको छैन । उहाँको पार्टीभित्र पनि आक्रोश बढ्दो छ । त्यसैले उहाँ आफैं सरकार ठीक छ भनेर निस्किनुभएको छ, जब सत्तामा भएकाहरु सरकार ठीक छ भनेर निस्कन्छन्, बुझिहाल्नुपर्छ सरकार बेठीक छ भनेर,’ उनी भन्छन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिअनुसार सरकारले काम नगरेकाले असन्तुष्टि चुलिँदै गएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?