काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन ।
काठमाडौंको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रूपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।
लगातार पटका पड्काउँदा नागरिकमा ध्वनि प्रदूषणसमेत भएको छ,भने आगलागीको जोखिम पनि बढेको चन्द्रागिरि निवासी शरण शर्माले बताए। उनले भने, ‘राति १२ बजेसम्म पटका पड्किएको थियो, ठूलाठूला आवाज आउँदा ‘डिस्टर्ब’ नै भयो, अहिले बिहान पनि उठ्न नपाउँदै लगातार पटका पड्किरहेका छन्, सुरक्षा निकायबाट निगरानी प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’
सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौंको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि अलि भित्री सडकहरूमा न्यून रूपमा मात्रै गस्ती भइरहेको पनि उनले बताए । त्यसका कारण पटका भित्रिने र पड्काउने क्रम नरोकिएको हो ।
नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताए । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।
पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरूलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया