पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड हिनामिना भएको छ ।
ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् ।
तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।
सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् । कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेयरमा हिसाबै नदेखाउने र व्यक्तिगत रूपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
गाउँलेले श्रम पसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन् । व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन् ।
प्रहरी नायब उपरीक्षक विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भएको बताए। विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालनमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन् । सहकारी संस्थामा आर्थिक हिनामिना भएको सुनेका गाउँलेले चिने जानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमानसमेत नगरेको स्थानीय बचतकर्ता विष्णुकुमारी क्षेत्रीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया