लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विद्युतको माग

लोकपथ
49
Shares

काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) एक हजार ६ सय दुई मेगावाट बराबर रहेको छ ।  

लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे उक्त पिक डिमान्ड रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कार्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत पिक डिमान्ड एक हजार चार सय ३८ मेगावाट थियो । गत वर्ष कोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड एक सय ६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत मागलाई देशभित्रैका विद्युत गृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । 

देशभित्रको विद्युत मागलाई पूरा गरी अतिरिक्त भएको दुई सय ५३ मेगावाट विद्युत पिक समयमा भारततर्फ निर्यात गरिएको छ । 

गत वर्ष लक्ष्मीपूजा पिक समयमा पाँच सय १७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षति पुग्दा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली कोरिडोर प्रसारण लाइनमा जोडिएको करिब दुई सय मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत निर्यात प्रभावित भएको हो । 

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतकाे माग एक हजार आठ सय ५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड एक हजार नौ सय ५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड तीन सय ९० मेगावाट रेकर्ड गरिएको छ  । गत वर्ष तीन सय ६६ मेगावाट थियो । 

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिनु भएको थियो । 

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?