उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान

लोकपथ
49
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाइ गरेका छन् ।

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन् ।

सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममना भोगेका समस्या,  जलवायु परिवर्तनका कारण  भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने छन् ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने बताइएको छ ।

त्यस्तै शहरीकरणका लागि चुनौति बनिरहेको खानेपानी, सरसफाई र शहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् ।  सिंह कार्यक्रममा सहभागि भएर शनिबार बिहान साढे १० बजे स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?