काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय कारोबार सम्बन्धी विधेयक चाँडै पारित गर्ने बताएका छन् । उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘विद्युतीय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ । र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणीकरण हुन्छ ।’ उनले अहिलेको आइटीको युगमा सबैले आफ्नो ढंगले विद्युतीय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए ।
उनले भने, ‘अबको युग भनेको आइटीको युग हो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐन कानुन पक्कै आउँछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौँ ।’
सभापति खानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न बारहरू भइरहेको बताए । जसको प्रतिकुल प्रभाव नेपालमा पनि विभिन्न रूपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनीति अलिकत तरल अवस्थामा छ । विभिन्न प्रकारका बारहरू छन् । यस सम्बन्धमा आर्थिक मन्दी हुने विभिन्न प्रकारका समस्याहरू आउन सक्ने र अहिले जुन प्रकारका बारहरू भइरहेका छन् । यसका तरङ्गहरु यसबाट हुने प्रतिकुल प्रभाव हाम्रो देशमा पनि विभिन्न रूपमा आएका छन् । हामी सर्तक हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया