अन्तरिक्षमा चेरी टमाटर र सलाद उब्जाएर ६ महिनापछि पृथ्वी फर्किए तीन चिनियाँ यात्रु

लोकपथ
497
Shares

काठमाडौं । चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङमा ६ महिना बिताएपछि तीन चिनियाँ अन्तरिक्ष यात्री सोमबार बिहान सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । ये गुआङफु, ली काङ र ली गुआङ्सु बोकेको शेन्झाउ–१८ अन्तरिक्ष यान स्थानीय समयअनुसार बिहान १ः२४ बजे भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेका थिए ।

उनीहरुले अन्तरिक्ष मिसनका क्रममा दुई प्रकारका बिरुवा हुर्काएको बताएका छन् । यसमा चेरी टमाटर र सलाद रहेको उनीहरुको भनाइ छ । उनीहरुले खानाका लागि केही सलादको पात पनि जम्मा गरेको बताएका छन् ।

अन्तरिक्षमा ताजा तरकारी खान पाउनु वरदान भएको यात्री ली गुआङ्सुले बताए । हरिया बिरुवाहरूले हाम्रो व्यस्त काममा पनि हरियाली, आनन्द र उत्साह प्रदान गरेको उनीहरुको भनाइ थियो ।

एकै समयमा शेन्झाउ–१८ का मिसन कमाण्डर गुआंगफु एक वर्षभन्दा बढी अन्तरिक्ष उडान समय बिताएका पहिलो चिनियाँ अन्तरिक्ष यात्री बनेका छन् । उनले चिनियाँ अन्तरिक्ष यात्रीको रूपमा कक्षामा सबैभन्दा लामो समयसम्म बस्ने कीर्तिमानी पनि राखेका छन् ।

चीनले अप्रिल २५ मा आफ्ना तीन अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा पठाएको थियो । शेन्झाउ–१८ चीनको मानव अन्तरिक्ष कार्यक्रमको ३२औँ उडान अभियान हो । चिनियाँ अन्तरिक्ष यात्रीहरूले आफ्नो मिसनमा दुईवटा अन्तरिक्ष पदयात्रा गरेका थिए । पहिलो अन्तरिक्ष पदयात्रा मे २८ मा भएको थियो । यस क्रममा चिनियाँ अन्तरिक्ष यात्रीले सबैभन्दा लामो एकल अन्तरिक्ष पैदल यात्राको कीर्तिमान बनाएका थिए । यो अन्तरिक्ष पदयात्रा करिब साढे आठ घण्टा चलेको थियो ।

दोस्रो अन्तरिक्ष पदयात्रा जुलाई ३ मा गरिएको थियो । यस क्रममा अन्तरिक्ष यात्री ये गुआङफु र ली काङले करिब ६ दशमलव ५ घण्टा अन्तरिक्ष पैदल यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?