रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई थप १० दिनको अनुमति

लोकपथ
385
Shares

कास्की । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले उनीमाथि अनुसन्धान गर्न २५ दिन माग गरेकोमा कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिनको म्याद दिएको हो ।

लामिछानेमाथि थप अनुसन्धान गर्न १० दिनको समय थप गरिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारले लोकपथलाई जानकारी दिए ।

‘रवि लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको समय थप भएको छ,’ उनले भने ।

रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले अनुसन्धान भइसकेकाले छोड्न माग गरेपनि इजलासले उनीहरुको कुरा सुनेन ।

रविको पक्षबाट अधिवक्ताहरू सुशील पन्त, नारायण घिमिरे, नारायण कँडेललगायतले बहस गर्दै रिहा गर्न माग गरेका थिए ।

पीडितको पक्षबाट भने युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेका थिए ।

कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । आजसहित प्रहरीले तेस्रो पटक म्याद थपका लागि लगेको थियो । अदालतले पहिलो पटक ६ र दोस्रो पटक सात दिनका लागि म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?