यस्ता छन् छठ पर्वका धार्मिक तथा सांस्कृतिक महत्व

लोकपथ
42
Shares

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै राजधानीलगायत तराइका विभिन्न जिल्लाहरूमा छठको रौनक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । 

 छठ पर्व  षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । छठ नेपाल र भारतका हिन्दुहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो ।

यो पर्व पष्टी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको सुख शान्तिको कामना गर्ने गरिन्छ । कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ ।                          

छठको पहिलो दिन–कार्तिक शुक्ल चतुर्दशी

कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दसैँ र तिहार लगतै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्– म अब जथाभाबी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।

खर्ना : छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमी

विधिवत रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।

छठ : छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी

छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झैँ सिंगारिएकाे हुन्छ।

पारण : छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

छठको धार्मिक र सांस्कृतिक महत्त्व

हरेक चाडपर्वहरूको आ–आफ्नै किसिमको धार्मिक, सांस्कृतिक महत्त्व र विशेषता हुने गर्दछ ।  भगवान् रामले १४ वर्षको वनवासी अवधिमा रावणको वध गरी कात्तिक औँसीमा अयोध्या फर्केका दिन अयोध्यामा दीपावली मनाइएको विश्वास छ । दीपावलीको आठौँ दिनमा छठ पूजा गरिन्छ । राम अयोध्या फर्केपछि कामकाज सञ्चालन गर्नुभन्दा पहिले रावण जो ब्राह्मण थिए, उनको हत्याको पापबाट मुक्त हुन कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गरिएको धार्मिक कथन छ । अर्कोतिर राजा प्रियब्रत, महर्षि, खीर रानी मालिनी र उनले जन्माएको मृत पुत्र, ब्रह्माकी मानसपुत्री देवसेना अर्थात् षष्ठी र उनको पूजा पनि छठसँग सम्बन्धित छन् । नेपालको खास गरी तराई–मधेस क्षेत्रमा मनाइँदै आएको छठले सामाजिक सन्देश र धार्मिक मान्यता विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?