सानो सिने बजारका कारण आम नेपालीको फुर्सद र मनोरञ्जनको समयमा नेपाली चलचित्रहरुले प्रदर्शनको मिति तोक्छन् ।
दसैँको फूलपातीमा ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ को चर्चा सेलाउन नपाउँदै अहिले हलहरुमा गन्धर्ब समुदायको संघर्षको कथामा आधारित बनेको ‘पूर्णबहादुरको सारङ्गी’ ले हलहरु तताइरहेको छ ।
लामो राजनीतिक संघर्ष, गरिबी, अभाव, संक्रमणकाल भोगेको नेपाली समाजले पुनः त्यही कथा हेर्न चाहन्छ, जुन कुरा पूर्णबहादुरको सारङ्गीले देखाएको छ । गन्धर्ब समुदायको कथा : जहाँ अभाव, गरिबी, प्रेम, सपना, संघर्ष देखाइएको छ । कथा सामान्य नै हो, जुन तपाईँ हामीले नै भोगेजस्तो । तर सन्तानको आवाज ठुलो बनाउन, सन्तानको शिर उचो बनाउने आफ्नो आवाज दबाउने, आफ्नो शिर झुकाउने ‘बा’ हरुको भित्री कथा मिहिन ढंगले देखाइएको छ । गाउँमा खेती किसानी र आफ्नो पुख्र्यौली पेशा गरेर शहरमा छोराछोरीको रहर पूरा गर्न मरिमेट्ने बाहरुको कथा छ, जसले बाको दुःख बिर्सिएर शहरमा बाटो बिर्सिएकाहरुलाई झस्काउँछ ।
झ्वाट्ट हेर्दा तपाईँलाई गाइने दाइ कस्तो लाग्छ ? हातमा सारङ्गी, मैलो कपडा, च्यातिएको कमिज र टोपी अनि धुलाम्मे शरीर ।
यसो हेर्दा हामीलाई लाग्दैन, उसका पनि सपना होलान्, उसँग दुनियाँलाई मग्नमुग्ध बनाउने कला होला । कुनै दिन पेटमा अन्न पुर्याउनका लागि मात्र रेटिने पूर्णबहादुरको सारङ्गी । तर जब पूर्णबहादुरमा छोरालाई ठुलो मान्छे बनाउने भूत सवार भयो त्यसपछि थपियो उसको जिन्दगीको दुःख, दौडाइ र चलचित्रको गति पनि । यथास्थितिवादबाट माथि उठ्न खोज्दाको संघर्षले कथालाई थप रोमान्चक बनाएको छ ।
‘श्रीमान गम्भीर नेपाली, प्रजापति…’ राष्ट्रिय गान यानेकी पञ्चायतकालीन समयमा नेपाली समाजको सोचमा आधारित चलचित्र भएका कारण तल्लो जातले पढ्न नहुने, आफ्नो पुख्र्यौली पेशा छाडेर पढ्न नहुने आदि आदि विषयहरु उठेका छन् । अझ, गाउँका सम्भ्रान्त पल्टिने, पढेका भनिएकाहरुबाट समाजका तल्ला वर्गमा हुने विभेदको कथा थोरै छ । पूर्णबहादुरले आफ्नो छोरा कान्छा (कमलबहादुर) लाई स्कुलसम्म पुर्याउन गरेको संघर्षले केहीबेर घोत्लिन बाध्य बनाउँछ ।
कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कवितामा…
‘हर्कबहादुर टीठलाग्दा आँखाले
घरी झण्डा र घरी आफ्नो आङ हेर्छ
घरी आफ्ना आङ र घरी झण्डा हेर्छ’
जस्तै, पूर्णबहादुरको छोराले बुख्याचामा लगाएको स्कुलको ड्रेस हेरेर भावुक बन्छ त्यसले दर्शकलाई छुन्छ ।
चलचित्रको लुकाइएको पाटो । पूर्णबहादुरकी श्रीमती र कान्छाकी आमा बनेकी ‘बाटुली’ (अन्जना बराइली)को भूमिका त्यतिमात्रै हो या, अन्य भाग ल्याएर पूरा गरिन्छ ? आम दर्शकलाई अभाव खड्किने पाटो त्यही हो । सबै रहरहरु मारेर मायाकै लागि समर्पित भएकी बाटुलीलाई छोरालाई गन्धर्ब पेशाबाट अलग गराउने रहर जाग्छ । पूर्णबहादुरलाई सारङ्गी रेट्न जाँदा गला रेट्न खोज्ने साहुहरुका अघि छोरालाई पढाएर ठुलो मान्छे बनाउने सपनाले चलचित्रलाई अर्को मोडमा पुर्याउँछ । छोरासहित गाउँको अर्कै पुरुषसँग शहर भागे पनि कान्छा बाटैबाट भागेर फर्कियो तर परिबन्दमा परेर शहर हिँडेकी बाटुली कहाँ पुगिन् ? दर्शकका रुपमा हेरिरहेको पंक्तिकारलाई पनि लाग्यो, कान्छा शहरमा डाक्टर बन्न गएपछि कुनै माध्यमबाट आमा भेट्नेछ, गाउँमा आमाबुबाको भेट गराउनेछ, अनि बिरामी बाबुको उपचारबाट आफ्नो डाक्टरी पेशाको सुरुवात गर्नेछ । दुःखबाट सुरु भएर झन दुःखमा चलचित्र सकिएपछि त्यस बिचमा केही अपुग भएको हो कि भन्ने आम दर्शकलाई लाग्छ, लाग्नु स्वभाविक पनि हो ।
बाटुलीले छिमेकीसँग छोरा पुस्तालाई पढाउने जोडबल नगरेकी होइनन् । तर पुख्र्यौली पेशा छाडे खानै पाइन्न भन्ने सामाजिक मनोविज्ञानले उनलाई हार खुवायो । परिबन्दमा परेर शहर पुगेकी बाटुलीको अवस्था अज्ञातले चलचित्र केही खल्लो भयो कि !
तर छोरालाई डाक्टर बनाउन गाइने बाबुले देखेको सपना, त्यसमा सामाजिक मनोविज्ञान, पूर्णबहादुरको संघर्षको कथा मार्मिक देखिन्छ । ३५ हजार रुपैयाँ कमाउनका लागि गीत गाउने पूर्णबहादुरले स्वर नै गुमाएको कथाले दर्शकलाई भावुक बनाउँछ ।
अझ शहरबाट बुबाको आवाज सुन्न चाहने कान्छा (कमलबहादुर–प्रकाश सपुत) को व्यग्र चाहना । तर गाउँमा कहिल्यै नफर्किने गरी स्वर नै गुमाएको बाउको कथाले चलचित्रको अन्त्यतिर दर्शकलाई थप भावुक बनाउँछ । तर गाउँमा विभेद भोगेको पूर्णबहादुरहरुको समुदायलाई कान्छाले डाक्टर बनेर फर्किएपछि उपल्लो वर्गलाई गरेको उपचार । स्कुल नपठाउन उर्दी जारी गर्ने मास्टरसहित शोषण गर्नेहरुलाई कान्छाले सेवा गरेपछि चलचित्रको सुखद अन्त्य भएको भए अझै राम्रो हुने थियो कि !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया