जीतपुर सिमरामा विशेष अधिवेशन बोलाउन प्रमुखलाई उपप्रमुखसहित वडाध्यक्षहरुको पत्र

लोकपथ
133
Shares

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुखसहित बहुमत वडाध्यक्ष तथा नगरसदस्यहरुले विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

नगरउपप्रमुख भोलाप्रसाद अधिकारीसहितको वडाअध्यक्ष र सदस्यहरुले विशेष अधिवेशन माग गर्दै विभिन्न ऐन संशोधनको माग समेत गरेका छन् ।

बजेट लगायतका विषयमा जीतपुर सिमरामा लामो समयदेखि प्रमुखसँग उपप्रमुखसहित वडाध्यक्षहरु असन्तुष्ट बन्दै आइरहेका छन् । नगरमा माओवादीले जिते पनि उपप्रमुखसहित वडाहरुमा एमालेको बर्चस्व रहेका कारण लामो समयदेखि नगरसभा समेत बस्न सकिरहेको छ ।

उपप्रमुख अधिकारीसहित वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा पत्र लेख्दै वर्तमान नगरसभा सञ्चालन नियमावलीका विभिन्न प्रावधानहरु संशोधनको माग समेत गरेका छन् ।

‘वर्तमान नगरसभा सञ्चालन नियमावली २०७५ को नियम ३ मा उपनियम ६ पछि उपनियम ७ थप गरी माथि जेसुकै लेखिएको भए पनि नगर प्रमुख वा नगर उपप्रमुख अनुपस्थित भएमा वा बैठकको अध्यक्षता गर्न नचाहेमा नगर कार्यपालिकाका बहुमत सदस्यहरुले तोकेको नगरकार्यपालिकाको व्यक्तिले नगरसभाको अध्यक्षता गर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नियम १ को उपनियम १ को अन्त्यमा नगर सभाको कार्यसूची नगरकार्यपालिकाको तत्काल रहेका सदस्यहरुको बहुमतबाट पारित गरी नगरसभामा पेश हुनेछ । थप गर्ने ।’

त्यस्तै वर्तमान नगरकार्यपालिका (कार्यसम्पादन) नियमावली २०७५ मा विभिन्न संशोधन गर्न नगर कार्यपालिकालाई निर्देशन गर्ने र संशोधन नभएसम्म यससँग बाझेको हदसम्म पहिलेकै व्यवस्था हुनेगरी अघि बढ्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?