पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा सामेल

लोकपथ
105
Shares

काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ ।

उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतकसमेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ ।

यस बारेमा आफ्नो उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ।’

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् । नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ । उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्‍याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?